इङल्याण्डद्वारा वेस्टइन्डिज पराजित

२०७७ श्रावण १३ मङ्गलबार, एजेन्सी । इङल्याण्डले वेस्टइन्डिजविरुद्धको टेस्ट सिरिज जितेको छ । अन्तिम टेस्टमा वेस्टइन्डिजलाई २६९ रनले पराजित गर्दै ईङल्याण्डले सिरिज २-१ ले जितेको हो ।

तेस्रो टेस्टमा इङल्याण्डले पहिलो इनिंगमा ३६९ रन बनाएको थियो भने वेस्टइन्डिज १९७ रनमा अल आउट भएको थियो । त्यस्तै पहिलो इनिंगमा १७२ रनको अग्रता बनाएको ईङल्याण्डले दोस्रो इनिंगमा ६ विकेट गुमाउदै २२६ रन थप बनाएर पारी घोषणा गर्दै वेस्टइन्डिजलाई ३९९ रनको लक्ष्य दिएको थियो ।

३९९ रनको लक्ष्य पाएको वेस्टइन्डिजले दोस्रो इनिंगमा टेस्टको अन्तिम दिन मंगलबार १२९ रन बनाउदा अलआउट भएपछि इङल्याण्डले खेल २६९ रनले जितेको हो ।

यस सिरिजमा सर्वाधिक १६ विकेट लिएका इङल्यान का स्टुअर्ट ब्रोड यस प्लेयर अफ ड सिरिज बनेका छन् । साथै ब्रोड तेस्रो टेस्टमा १० विकेट लिदै प्लेयर अफ द म्याच समेत बनेका छन् ।

ब्रोड ५ सय विकेट क्लबमा 

इङल्याण्डका तिब्र गतिका बलर स्टुअर्ट ब्रोडले टेस्ट क्रिकेटमा ५ सय विकेट लिएका छन् ।

वेस्टइन्डिजविरुद्ध जारी तेस्रो टेस्टको दोस्रो इनिंगमा ब्रोडले ३ विकेट लिदै आफ्नो क्यारियरमा ५ सयौं विकेट लिएका हुन् । ब्रोडले वेस्टइन्डिजका क्रेग ब्रेथवेटको विकेट लिदै आफ्नो ५ सयौं विकेट पुरा गरेका हुन् ।

ब्रोड टेस्ट क्रिकेटमा ५ सय विकेट लिने विश्वका सातौ बलर बनेका छन् भने इङल्याण्डका दोस्रो खेलाडी हुन् । इङल्याण्डबाट जेम्स एण्डरसनले ५८९ टेस्ट विकेट लिएका छन् । टेस्ट क्रिकेटमा श्रीलंकाका मुथैया मुरलीधरनले सबैभन्दा बढी ८ सय विकेट लिएका छन् । त्यस्तै अस्ट्रेलियाका शेन वार्नले ७०८ टेस्ट विकेट लिएका छन् ।

त्यसैगरी भारतका अनिल कुम्बलेले ६१९ टेस्ट विकेट लिएका छन् भने इङल्याण्डका जेम्स एण्डरसनले ५८९ विकेट लिएका छन् । त्यस्तै अस्ट्रेलियाका ग्लेन म्याग्राले ५६३ र वेस्टइन्डिजका कर्टनी वाल्शले ५१९ विकेट लिएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार