इराकमा हिंसात्मक बन्दै जनप्रदर्शन,प्रहरीले चलाएकाे गाेलीले २काे मृत्यु

२०७७ श्रावण १४ बुधबार, एजेन्सी । इराकमा भइरहेको सरकारविरुद्ध प्रदर्शन हिंसात्मक बन्दै गएको अलजजिराले उल्लेख गरेको छ।  राजधानी बगदाद सहित अन्य शहरहरुमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ।

प्रहरीसँगको झडपमा मृत्यु भएका दुईजनाको शवयात्रामा बगदादमा हजारौं मानिस सहभागी भएका छन्। भ्रष्टचार, बेरोजगारी साथै सामान्य सेवा सुविधाको अभाव भएको भन्दै केही समयदेखि इराकीहरु सडक संघर्षमा उत्रेका हुन्। त्यसैक्रममा आइतबार प्रहरीसँगको झडपमा दुईजनाको मृत्यु भएको थियो।

मे महिनामा प्रधानमन्त्री नियुक्त भएका मुस्तफा अल कधिमी सरकारविरुद्ध भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास देखि गोली प्रहार गरिरहेको छ। प्रदर्शनकारीहरुले पनि पेट्रोल बम प्रहार गरिरहेका छन्।

दुईजनाको मृत्यु भएपछि प्रधानमन्त्री मुस्तफाले प्रदर्शन गर्न पाउने नागरिकहरुले अधिकार भएको र प्रहरीलाई प्रदर्शनकारीहरुमाथि गोली चलाउने अधिकार नभएको बताएका थिए। उनले प्रहरीले गोली चलाएको विषयमा अनुसन्धान गर्न र ३ दिनभित्र रिपोर्ट दिन निर्देशन दिएका छन्।

गत वर्षपनि इराकमा भएको जनप्रदर्शनमा करिब ५ सय प्रदर्शनकारीको मृत्यु भएको थियो। अहिलेकै मुद्दा लिएर गरिएको प्रदर्शनका कारण प्रधानमन्त्री अदेल अब्दुल महदीले राजीनामा दिएका थिए।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार