सुशान्त आत्महत्या प्रकरण: धर्मा प्रडक्सनका सिइओसँग सोधपुछ

२०७७ श्रावण १४ बुधबार, एजेन्सी । सुशान्त सिंह राजपूतको आत्महत्या मुद्दामा मुम्बई प्रहरीले मंगलबार धर्मा प्रडक्सनका सिइओ अपूर्व मेहताको बयान लिएको छ।

मुम्बईको अंबोली प्रहरी कार्यालयमा भएको झण्डै ३ घण्टा लामो सोधपुछमा प्रहरीले चलचित्र ‘ड्राइभ’ बनाउन किन ढिला भएको, चलचित्रलाई सिनेमा हलमा प्रदर्शन गर्नुको साटो किन ओटीटी प्लेटफर्ममा सार्वजनिक भयो भनेर धर्मा प्रडक्सनसँग सुशान्तको विवादको बारेमा सोधपुछ गरेको थियो।

दैनिक भास्करमा उल्लेख गरिए अनुसार प्रहरीले गरेको सोधपुछमा दिइएको जवाफमा मेहताले धर्मा प्रडक्सन र सुशान्तबीच कुनै पनि किसिमको विवाद नभएको बताएका छन्। उनले ‘ड्राइभ’ चलचित्र सन् २०१७ मा फ्लोरमा गएको थियो र यो चलचित्र बन्न झण्डै दुई वर्ष लागेको जानकारी दिए। उनको अनुसार चलचित्र भिएफएक्सको अत्याधिक प्रयोग गर्नुपर्ने थियो। यो पूरा गर्दा गर्दै धेरै समय लागेको हो।

चलचित्रका केही दृश्यहरुको पुन छायांकन गर्नुपर्ने थियो, यही काम गर्दा गर्दै चलचित्र प्रदर्शनको लागि समय लागेको हो। यो चलचित्रलाई अनलाईन प्ल्याटफर्ममार्फत प्रदर्शन गर्ने व्यावसायिक निर्णय थियो, यो विषयमा सुशान्तसँग केही पन विवाद भएको थिएन।

यो भन्दा अगाडि सार्वजनिक भएको खबरका अनुसार ‘ड्राइभ’ चलचित्रको विषयमा करण जोहर र सुशान्तबीच आपसमा झगडा भएको थियो।

यो चलचित्र सुशान्त चलचित्र हलमा प्रदर्शन गर्न चाहन्थे तर करणले यसलाई अनलाइनमा प्रदर्शन गरिदिए। करणसँग विवाद भएपछि सुशान्तलाई फ्लप अभिनेताको ट्याग लाग्यो र उनीसँग अब अगाडि कहिले पनि काम नगर्ने घोषणा उनले गरे।

सुशान्तको मृत्युको डेढ महिना बितिसकेपछि पनि धर्मा प्रडक्सनमाथि एक पछि अर्को आरोप लागिरहेका छन्। प्रहरी अनुसन्धानमा धर्मा प्रडक्सनका सदस्यहरुसँग सोधपुछको काम भइरहेको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार