सार्क क्षेत्रमा ३९ लाख बालबालिका कुपोषित हुन सक्ने युनिसेफको चेतावनी

२०७७ श्रावण १५ बिहीबार, एजेन्सी । युनिसेफले कोरोना भाइरस (कोभिड–१९)को प्रभावस्वरूप सन् २०२० मा दक्षिण एसिया (सार्क) का पाँच वर्षमुनिका थप ३९ लाख बालबालिकामा सुकेनासका कारण कुपोषण हुन सक्ने चेतावनी दिएको छ ।

द ल्यान्सेटमा प्रकाशित विश्लेषणअनुसार विश्वभरिका ६७ लाख बालबालिका सुकेनासबाट प्रभावित हुन सक्ने आंकलन छ । त्यसमा ५८ प्रतिशत अर्थात ३९ लाख बालबालिका दक्षिण एसियाका हुने अनुमान छ । युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटा फोरले कोरोनाका बिरामी भेटिन थालेको सात महिना बित्दै गर्दा यो रोगका कारणभन्दा पनि रोकथामका उपायका कारण बालबालिकालाई हानि पुगिरहेको बताएका छन् ।

गरिबी तथा खाद्य असुरक्षाको दर बढ्नुका साथै अत्यावश्यक पोषण सेवा र आपूर्ति शृंखला अवरुद्व भएको युनिसेफको विज्ञप्तिमा उल्लेख छ । सुकेनास कुपोषणको अत्यन्तै गम्भीर स्वरूप हो । यसले बालबालिकालाई अत्यन्तै दुब्लो र शारीरिक रूपमा कमजोर बनाउँछ । उनीहरूलाई मृत्युको जोखिममा पुयाउनुका साथै शारीरिक वृद्वि, विकास र सिकाइमा कमजोर बनाउँछ ।

युनिसेफका अनुसार २०१९ मा विश्वका चार करोड ७० लाख बालबालिका सुकेनासबाट प्रभावित थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार