अब विद्यालयलाई क्वारेन्टाइन र आइसोलेसनको रूपमा प्रयोग गर्न नपाइने

२०७७ श्रावण १५ बिहीबार, काठमाडौं । सरकारले अब विद्यालयहरूलाई क्वारेन्टाइन र आइसोलेसन सेन्टरको रूपमा प्रयोग नगर्ने निर्णय गरेकाे छ।

गत सोमवार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा युवराज खतिवडाले विद्यालय भवनमा क्वारेन्टाइन र आइसोलेसन सञ्चालन नगर्ने निर्णय गरेको बताए।

‘विद्यालय परिसरमा क्वारेन्टाइन र आइसोलेसन कार्य सञ्चालन नगर्ने। साथै क्वारेन्टाइन र आइसोलुसेनका रुपमा प्रयोग हुन छाडेका विद्यलय भवनलाई मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरेर अध्यापन गर्न योग्य बनाउने,’ उनले भने।

विद्यार्थी आवागमनमा प्रतिकूल हुने गरी र विद्यालय परिसर वरीपरी कोभिड-१९ रोकथाम सम्बन्धी कुनै संरचना नराख्ने निर्णय भएको उनले बताए। सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि सामुदायिक विद्यालयहरुलाई नै प्रयोग गर्दै आएको छ।

खतिवडाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्‍चालन कार्यढाँचा जारी गर्ने निर्णय भएको बताए। उनले शैक्षिक सत्र २०७६/७७ का परीक्षाको बाँकी नतिजा प्रकाशन गर्ने, भदौ १ देखि नयाँ विद्यार्थी भर्ना गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउने, पाठ्यपुस्तक उपलब्ध गराउने, कक्षागत विद्यार्थीको संख्या यकीन गर्ने र विद्यालयका शैक्षिक क्रियाकलाप सञ्‍चलानार्थ शिक्षकहरु अबिलम्ब विद्यालय पुग्ने व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिए।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार