उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा टंक दुलालको उम्मेद्वारी

२०७७ श्रावण १६ शुक्रबार, काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं निर्वाचनमा प्रदेश १ को इटहरीबाट व्यवसायी टंक दुलालले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् । यहि साउन २६ र २७ गते घोषित संघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपनि उद्योग बाणिज्य संघ इटहरीका पूर्व अध्यक्ष टंक दुलालले केन्द्रीय सदस्यमा आफ्नो उम्मेद्वारी रहेको बताएका हुन् ।

उनलाई उद्योग वाणिज्य संघ इटहरीको साथ रहेको छ । इटहरी उद्योग वाणिज्य संघले खुल्ला तर्फ महासंघको सदस्य पदमा दुलाललाई मतदान गर्न आग्रह गरेको छ । दुलाल पूर्वाञ्चल उद्योग बाणिज्य संघका अध्यक्ष समेत भईसकेका छन् ।

दुलाल कांग्रेस निकट हुन् । उनले वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानको प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिन लागेका हुन् । उनले आर्थिक क्षेत्रको उन्नतिका लागि निजी क्षेत्रको साझेदारी भन्दै आफ्नो उम्मेद्वारी रहेको बताएका छन् ।

सुनसरीकै धरानबाट चन्द्र ढकालको पक्षबाट सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक ताम्राकारले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् । महासंघको ५४ औं बार्षिक साधारणसभाले वरिष्ठ उपाध्यक्षसहित ३ उपाध्यक्ष र कार्यसमिति सदस्यहरुको चयन गर्छ ।
महासंघमा वरिष्ठ उपाध्यक्ष हुने व्यक्ति स्वतः अध्यक्ष हुने प्रावधान छ । जसअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् । वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्रप्रसाद ढकालबीच चुनावी प्रतिस्पर्धा हुने छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार