नेविसंघ, तरुण दल लगायतको म्याद थप गरेकोमा रामचन्द्र पौडेलको आक्रोश

२०७७ श्रावण १७ शनिबार, काठमाडौं । नेपाली कांग्रेसको ९ वटा भातृ संगठनको पदावधि समाप्त भएकोमा नेपाली कांग्रेसले आगामी ६ महिनाका लागि पदावधि थप गरेको छ । महाधिवेशनको प्रक्रिया शुरु भइसकेपछि  भातृ संगठनहरुको ६ महिना म्याद थप गरेकोमा बरिष्ठ नेता रामचन्द्र पौडेलले आक्रोश व्यक्त गरेका छन् ।

कांग्रेस पार्टी कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार पार्टीका भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघको पदावधि थप गरिएको छ ।

यसैगरी नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि आगामी केन्द्रीय कार्य समितिको बैठकबाट अनुमोदन हुने गरी ६ महिनाका लागि म्याद थप गरिएको पार्टीका मुख्य सचिब कृष्ण प्रसाद कोइरालाले जनाएका छन् ।

बरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको प्रक्रिया शुरु भइसकेपछि पार्टी सभापति शेर बहादुर देउवाले पार्टीको वैठकै नराखी भातृ संगठनहरुको म्याद थपेको प्रति आक्रोश व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा अपिल लेख्दै निहित स्वार्थका लागि पटकपटक अधिवेशन स्थगित गराउँदै ल्याएर सारा भातृ संस्थाहरुको अस्थिपन्जर मात्र बाँकि राख्ने काम भएको बताएका छन् ।

उनले केन्द्रिय महाधिवेशन प्रक्रिया सुरु भैसकेको अवस्थामा म्याद थप्न पार्टीको बैठक सम्म राख्न आवश्यक नठानी केवल निर्देशानुसार भन्दै नौ नौ वटा भातृसंस्थाको म्याद थप्ने निर्लज्ज कार्यले पार्टीको संगठन र यसको आन्तरिक लोकतन्त्रलाई धज्जी उडाइएको समेत बताएका छन् । लोकतन्त्रका लागि आफ्नो जीवन अर्पेर हिँडेका साथीहरूलाई गम्भीर हुन पौडेलले आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार