बालुवाटारमा चार नेताबीचको छलफल जारी

२०७७ श्रावण १९ साेमबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवादलाई निकास दिनेबारे दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा छलफल जारी छ ।

बालुवाटार स्रोतका अनुसार सोमबार (आज) बिहान ९ बजेपछि भएको छलफलमा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन् । चार नेताबीच आइतबार पनि झन्डै तीन घन्टा बालुवाटारमा कुराकानी भएको थियो । आइतबार साँझ प्रचण्डले नेताहरूलाई ओलीसँगको छलफल सकारात्मक नभएको ब्रिफिङ्ग दिएका थिए ।

खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग भएको छलफलमा प्रचण्डले यस्तो जानकारी गराएका एक नेताले बताए । गत मंगलबार स्थायी समिति बैठक स्थगित भएदेखि दुई अध्यक्षबीच भेटघाट हुन सकेको थिएन । प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा स्थायी समिति बैठक स्थगित गरेको भन्दै प्रचण्डले मंगलबार बैठकको अध्यक्षता गरेका थिए ।

बैठकमा वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहित २९ जना सदस्यहरु सहभागी थिए । प्रधानमन्त्री ओली निकटका सदस्यहरु भने सहभागी थिएनन् । त्यस्तै पूर्व माओवादी पक्षधर ४ जना सदस्यहरु सहभागी थिएनन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार