मलेसियामा नेपाली सेक्युरिटी गार्डमाथि कुटपिट गर्ने व्यक्ति नेपाली

२०७७ श्रावण १९ साेमबार, काठमाडौं । मलेसियामा नेपाली सेक्युरिटी गार्डमाथि कुटपिट गर्ने व्यक्ति नेपाली नै रहेको खुलेको छ । केही दिनअघि एक व्यक्तिले सेक्युरिटी गार्डकै पोशाकमा रहेका एकजना नेपालीमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

घटनाको प्रारम्भिक अध्ययनका क्रममा पीडित व्यक्ति नेपाली भएको थाहा भए पनि घटनाको अन्य विवरण खुलेको थिएन । दूतावासले घटनाको अध्ययन गरेपछि थप विवरण सार्वजनिक भएको छ । उक्त घटना गत जुलाई ७ तारिखमा बिहान १० बजे एमथ्री मलमा भएको र कुटपिट गर्ने व्यक्तिसमेत नेपाली भएको क्वालालाम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार पीडित व्यक्ति नवलपरासीका इस्लाम हुसेन हुन् भने कुटपिट गर्ने कपिलवस्तुका राम गोपाल मुराउ हुन् । उनीहरु दुवैजना दूतावासको सम्पर्कमा आएका छन् । दूतावासको सम्पर्कमा आएका मुराउले हुसेनलाई कुटपिट गर्ने आफू नै भएको स्वीकारसमेत गरेका छन् ।

पीडित हुसेन सोही मलका सेक्युरिटी गार्ड र कुटपिट गर्ने मुराउ सुपरभाइजरको रुपमा कार्यरत रहेको समेत खुलेको छ । मलेसियाको अध्यागमन कानूनअनुसार उनीहरु दुवैजना अवैधानिक कामदारसमेत रहेको पाइएको दूतावासले जनाएको छ । घटनाको थप अनुसन्धान क्वालालम्पूरको वाङ्सामाजु स्थित प्रहरीस्टेशनले गर्ने दूतावासले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार