सुरक्षा मापदण्ड पालना नगर्ने रेष्टुरेन्ट बन्द गराइने

२०७७ श्रावण १९ साेमबार, काठमाडौं । कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेका बेला सुरक्षा मापदण्ड पालना नगर्ने होटल तथा रेष्टुरेन्ट बन्द गराइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) को बैठकले व्यवस्थित रुपमा सञ्चालन नभएका उपत्यकाभित्रका खाजा घर तथा रेष्टुरेन्ट बन्द गराउने निर्णय गरेको हो ।

उपत्यकामा सञ्चालित धेरै खाजा घर तथा रेष्टुरेन्ट न्युनतम स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी सञ्चालन भएको जानकारी आएको भन्दै स्वास्थ्य मन्त्रालयले यसमा सुधार नगर्नेहरुलाई बन्द गराउनुपर्ने निष्कर्षमा पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीकाअनुसार यो निर्णय कार्यान्वयन गराउन कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिलाई (सीसीएमसी) पत्राचार गरिसकेको छ ।

यस्तै आइतबारकै बैठकले उपत्यकाभित्र परीक्षण मापदण्डअनुसार जाँच गर्नुपर्ने व्यक्तिहरुको नमूना संकलन गर्नका लागि ठाउँ ठाउँका अस्पताललाई बुथ तोक्नेसमेत निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार