चीनमा अझ बढ्दै छ कोरोना

असाढ १,२०७७ ,एजेन्सी ।  चीनमा पछिल्लो दुई दिनमा कोरोना संक्रमितको संख्या बढिरहेको चिनिया सरकारले जनाएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमध्ये बेइजिङमा मात्रै ३६ जनामा कोरोना संक्रमण देखिएको हो ।
शनिबार पनि बेइजिङमा ३६ जनामा कोरोना संक्रमण देखिएको थियो । समाचार संस्था एएफपीका अनुसार बेइजिङको हेडियान क्षेत्रमा रहेको थोक बजारमा संक्रमण देखिएपछि बेइजिङका थप १० क्षेत्रमा लकडाउन गरिएको छ ।
‘सिनफादि’ नाम गरेको उक्त कृषि बजारमा कार्यरत कर्मचारीहरुको नमुना संकलन गर्दा संक्रमण देखिएको हो । चीनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन । त्यस्तै पछिल्ला दिनहरुमा संक्रमित हुनेको संख्यामा कमी पनि आएको छ ।
चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ हजार ३ सय ३५ जना पुगेको छ । संक्रमण पुष्टि भएकामध्य ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ । त्यस्तै चिनिँया रिपोर्ट अनुसार चीनमा ७९ हजार ४ सय ८३ जना निको भएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार