स्पेनका ८२ वर्षीय पूर्वराजा ख्वान कार्लोसले छोडे देश

२०७७ श्रावण २० मङ्गलबार, एजेन्सी । स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने त्यहाँको राजदरबारले घोषणा गरेको छ । केही हप्ताअघि उनी भ्रष्टाचारसम्बन्धी मुद्दामा जोडिएका थिए ।

८२ वर्षका कार्लोसले उक्त घोषणा आफ्ना छोरा फेलीपे षष्टमलाई लेखेको पत्र मार्फत गरेको बताइएको छ । अभियोजनकर्ताहरूले आफूसँग सोधपुछ गर्न चाहेको खण्डमा आफू उपलब्ध हुने उनले बताएका छन् ।

साउदी अरेबियामा एउटा हाइ-स्पीड रेलको ठेक्काका विषयमा कार्लोसको कथित संलग्नताबारे गत जुन महिनामा स्पेनको सर्वोच्च अदालतले अनुसन्धान अघि बढाएको थियो । पूर्व राजाले स्पेन कहिले छाड्ने छन् वा उनी त्यसपछि कहाँ बस्नेछन् भन्ने विषय स्पष्ट भएको छैन ।

बीबीसीका युरोप संवाददाता नीक बीकका अनुसार कुशलतापूर्वक स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म डोर्‍याएका कार्लोसका लागि यो अपमानजनक बहिर्गमन हो । करिब ४० वर्ष राज गरेपछि कार्लोसले सन् २०१४ मा गद्दी त्यागेका थिए ।

आफ्ना ज्वाईँ मुछिएको भ्रष्टाचारसम्बन्धी अनुसन्धान र स्पेनमा आर्थिक मन्दीका बेला विवादास्पद हात्ती सिकार यात्रापछि उनले गद्दी त्यागेका थिए ।

अनुसन्धानको विषय के हो ?
सन् २०१४ मा गद्दी त्याग गरेपछि ख्वान कार्लोसको साउदी अरेबियास्थित परियोजनामा संलग्नता स्थापित गर्ने आफूहरूको उद्देश्य रहेको स्पेनको सर्वोच्च अदालतले बताएको छ ।

स्पेनको एउटा कम्पनीले मक्का-मदिना रेल निर्माणका लागि ६.७ अर्ब युरो बराबरको ठेक्का पाएको थियो । अनुसन्धानमा स्विस व्याङ्कहरू पनि सामेल छन् ।

स्पेनका भ्रष्टाचारसम्बन्धी मामिला हेर्ने अधिकारीहरूले पूर्व राजाले स्विट्जर्ल्यान्डमा अघोषित धन राखेको हुन सक्ने शङ्का गरेका छन्। यस विषयमा अनुसन्धान जारी छ । स्पेनको सरकारले “न्याय सबैका लागि समान रहेको”बताएको छ र उसले सोधपुछमा “हस्तक्षेप नगर्ने” जनाएको छ ।

ख्वान कार्लोस बारे
-सन् १९३८ मा रोम, इटलीमा जन्म
-सन् १९७५ नोभेम्बर २२ मा राज्यारोहण
-कठिन अवधिमा स्पेनको लोकतन्त्रको नेतृत्वका कारण उनलाई व्यापक रुचाइन्थ्यो
-तर ३९ वर्ष लामो शासनकालको अन्त्यतिर आउँदै गर्दा उनीविरुद्ध आलोचना बढ्दै गयो
-सन् २०१४ जुन १८ मा छोरा फेलीपेका पक्षमा उभिँदै राज गद्दी त्याग

  • बीबीसी
फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार