आईपीएलको मुख्य प्रायोजकबाट चिनियाँ कम्पनी भिभो अलग हुँदै

२०७७ श्रावण २१ बुधबार, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को मुख्य प्रयोजकबाट चिनियाँ मोबाइल कम्पनी भिभो यो वर्षको लागि अलग हुने भएको छ। बीसीआई र भिभो दुवैले औपचारिक रुपमा यसको घोषणा भने गरेका छैनन्।

गएको जुनदेखि चीन र भारतबीच बिग्रिएको सम्बन्धका कारण समाजिक सञ्जालमा आईपीएलको मुख्य प्रायोजकबाट भिभोलाई हटाउनुपर्ने भारतीय क्रिकेटका समर्थकहरुले सामाजिक सञ्जालमार्फत माग गर्दै आएका थिए। १९ जुनमा बीसीसीआईले ट्विट गर्दै यसबारे पुनर्विचार गर्ने जनाएको थियो।

तर, गत हप्ता मात्र भिभोलाई नै प्रायोजकमा निरन्तरता दिने निर्णय भएको थियो। त्यसपछि कतिपय भारतीयले यसलाई ‘चाइनिज आईपीएल’ भन्दै विरोध गरेका थिए। चर्को विरोधका कारण भिभो आफैँले हट्नै सूचना बीसीसीआईलाई दिएको केही भारतीय सञ्चारमाध्यमले स्रोतलाई उधृत गर्दै समाचार लेखेका छन्।

भिभो यो वर्षको लागि मात्र मुख्य प्रायोजकबाट अलग हुने भएको हो। उसले आईपीएललाई यो वर्ष ४४० करोड भारतीय रुपैयाँ दिने सम्झौता थियो। सन् २०१७ मा आईपीएल आयोजक र भिभोबीच पाँच वर्षका लागि मुख्य प्रायोजक बन्ने सम्बिन्धि सम्झौता भएको थियो।

पाँच वर्षमा उसले आईपीएललाई २ हजार १९९ करोड भारतीय रुपैयाँ दिने सम्झौता थियो। अब अर्को वर्ष भिभोसँग फेरि नयाँ सम्झौता हुने समाचारहरुमा जनाइएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार