मुलुकव्यापी रुपमा तत्काल लकडाउन हुँदैन : खतिवडा

२०७७ श्रावण २२ बिहीबार, काठमाडौं । सरकारका प्रवक्ता, सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सरकारले अहिलेको अवस्थालाई हेरेर मुलुकव्यापी रुपमा लकडाउन नगर्ने बताएका छन् । उनले जोखिम भएको स्थानमा स्थानीय प्रशासनले निषेधाज्ञा वा अन्य कुनै कदम चाल्न सक्‍ने बताए ।

मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले जोखिम हुने ठाउँमा सेवा रोक्दै जानुपर्ने अवस्था आउन सक्ने तर मुलुकव्यापी रुपमा लकडाउन नहुने प्रस्ट्याए । उनले भने, ‘सरकारले चैतमा घोषणा गरे जसरीको विधि अपनाएर जानेतर्फ सोचेको छैन । जोखिम बढ्यो भने स्थानीय प्रशासनले कदम चाल्न सक्छ ।’

मन्त्री खतिवडाले सरकारले परिस्थितिअनुसार लकडाउन हटाउने र आंशिक विधि अपनाएर केही खुकुलो पार्ने वा जोखिम बढेको स्थानमा कडाइ गर्न सक्‍ने बताए ।

काठमाडौंभित्र संक्रमणको जोखिम बढेकाले सिहंदरबार प्रवेशमा सर्वसाधरणलाई रोक लगाइएको मन्त्री खतिवडाको भनाइ छ । यस्तै उपत्यकामा जोरबिजोर प्रणाली संक्रमणको जोखिम बढेर नै लगाइएको उनले बताए ।

यसैबीच मन्त्री खतिवडाले सरकारले आईसीयूहरुको थप विस्तार गर्ने तयारी गरिरहेको बताएका छन् । उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै प्रकारका उपचारका विधिहरु अपनाउने बताए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार