धरान आजबाट लकडाउन, भाेलिदेखि झन् कडाइ !

२०७७ श्रावण २२ बिहीबार, सुनसरी । काेराेना भाइरस (काेभिड १९) संक्रमणकाे जाेखिम कम गर्नका लागि लकडाउन गरिएकाे पहिलाे दिन धरान सुनसान देखिएकाे छ । भानुचोक, छाताचोक, जिरोप्वाइन्ट लगायत मुख्य सडकका क्षेत्रमा एक/दुई जना मात्रै हिँडडुल गरेकाे देखिन्छ ।

भित्री सडकमा भने केही मानिसहरूकाे चहलपहल बाक्लै पाइएकाे छ । कोरोना संक्रमित बढ्दै गएपछि धरानमा दोस्रो पटक लकडाउन गरिएको हो । हिजो बुधबार कार्यपालिकाको बैठकले साउन २८ गतेसम्म लकडाउन गरेको छ भने जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको हाे ।

यसपटक कडा लकडाउनका कारण धरानमा औषधी पसल बाहेक कुनै पनि व्यवसायिक पसल खुल्न पाएको छैन ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले लकडाउनमा घरबाहिर ननिस्कन भनिएपनि मानिसहरुको आवतजावत बढिरहँदा भोलिदेखि ‘झन कडाई’ गर्ने बताए । धरान प्रवेश गर्ने सीमा नाकामा पनि प्रहरी तैनाथ छन् भने सीमा नाकामा कडाइ गरिएको डिएसपी बस्नेतले जानकारी दिए ।

पहाडी जिल्लाबाट प्रवेश गर्ने नाका धरान–१३ शिवधारा, तराईबाट प्रवेश गर्ने नाका तीनकुने, पानबारी, चतराबाट प्रवेश गर्ने धरान–१७ को पुललगायतका नाकामा कडाइ गरिएको प्रहरीले जनाएको छ । धरान–१३ को नाकामा खटिएका ट्राफिक प्रहरी ओम प्रकाश अधिकारीका अनुसार ‘सवारी साधन जुन बाटोबाट आउछ, त्यतै फर्काउने गरिएको छ ।’

यता मेयर तिलक राईले धरानबासीले अटेर नगरी कोरोना संक्रमणको जोखिमलाई कम गर्न लाग्नुपर्ने बताउँदै धरानबासीलाई लकडाउन र निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार