अब निवेदन दिएको भोलिपल्ट मात्रै सवारी पास मिल्ने

२०७७ श्रावण २२ बिहीबार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निवेदन दिएको भोलिपल्ट मात्रै सवारी पास दिने व्यवस्था गरेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको दर बढीरहेको हुँदा कार्यालय परिसरमा भिडभाड कम गर्न उक्त व्यवस्था गरेको हो ।

मानिसको अत्याधिक भीड हुन थालेको र सार्वजनिक निकायका व्यक्तिहरुमा समेत कोभिड–१९ देखिन थालेकाले भीडभाड रोक्न र सामाजिक दूरी कायम गर्न उक्त व्यवस्था गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए।

आज मात्रै काठमाडौं उपतयका लगायत मुलुकभर ३६० जनामा कोरोना देखिएको छ । उपत्यकाका मात्रै एकै दिन ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब अत्यावश्यक कामका लागि गाडीको पास चाहिएमा काठमाडौँ प्रशासनमा अघिल्लो दिन निवेदन दिएर त्यसको भोलिपल्ट मात्रै पास लिनका लागि जानुपर्ने छ । निवेदन दिएर सोही दिन पास लिन कुर्दा मानिसको भीडभाड बढी हुने भएकाले त्यस्तो व्यवस्था गरिएको जनाइएको छ ।

अघिल्लो दिन सङ्कलन भएको निवेदनको आधारमा भोलिपल्ट बिहान ८ बजेबाट पास वितरण गरिने छ । त्यसका लागि गेटमै निवेदन दिने र सोही स्थानबाट पास लिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय काठमाडौँमा कोभिड–१९ को जोखिम बढ्दै गएकाले आवागनमा कडाइ गरिएको तथा सीमा नाकामा निगरानी बढाइएको छ ।

गृह मन्त्रालयले ७७ वटै जिल्लामा परिपत्र गर्दै अत्यावश्यक काम बाहेकका लागि पास नदिन निर्देशन जारी गरिसकेको छ । मन्त्रालयले आजदेखि लागू हुने गरी यातायातमा जोर बिजोर प्रणालीसमेत लागू गरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार