उपत्यकामा संक्रमित क्षेत्र तुरुन्तै सिल हुने

२०७७ श्रावण २३ शुक्रबार, काठमाडौं । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले कोरोना संक्रमण क्षेत्रमा तुरुन्त सिल गर्ने निर्णय गरेका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो । यो निर्णयसँगै काठमाडौँको टेकु र महाबौद्ध सिल हुने भएका छन् । शुक्रबारमात्रै यी क्षेत्रमा कोरोना संक्रमित भेटिएका थिए ।

पछिल्ला केहि दिनदेखि काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको देखिएपछि प्रशासनले यस्तो निर्णय लिएको बताइएको छ । साथै सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको वा नभएको अनुगमन गर्ने र स्वास्थ्य प्रोटोकल पालना नगरेकालाई बन्द गर्ने समेत निर्णय गरिएको छ ।

साथै उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले दिने अत्यावश्यक बाहेकका सेवा समेत दुई साताका लागि बन्द गर्ने निर्णय गरेका छन् । यसबाट नागरिकता, पासपोर्ट बनाउने जस्ता काम बन्द हुने भएका छन् ।

अन्य कार्यालयको हकमा भने सम्बन्धित कार्यालय प्रमुखले निर्णय लिने बताइएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार