कोशी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

२०७७ श्रावण २३ शुक्रबार, विराटनगर । विराटनगरको कोशी अस्पतालमा ५८ वर्षीय पुरुषको कोरोना भाइरसकाे संक्रमणबाट ज्यान गएकाे छ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार विराटनगर महानगरपालिका–९ का पुरुषको शुक्रबार विहान ९ बजेर १५ मिनेटमा मृत्यु भएको हो।

गएको एकसातादेखि ज्वरो र खोकीको समस्या देखिएका उनलाईलाई थप उपचारका लागि विहान अस्पताल पुर्‍याइएको थियो। उच्च रक्तचापले समेत पीडित पुरुषको मृत्यु लगत्तै उनको स्वाब संकलन गरिएको थियो। अस्पतालकै ल्याबबाट दिउँसो ३ बजे मृतकको पीसीआर रिपोर्ट पोजेटिभ आएको मेसु डा. दासले जानकारी दिए।

यस क्रममा मृतकका परिवारले निमोनियाको शंकामा यसअघि निजी स्वास्थ्य केन्द्रमा उपचार गराएको र स्थिति जटिल बन्दै गएपछि कोशी अस्पताल पठाएको बताइएको छ।

यससंगै विराटनगर महानगरपालिकामा ३ जनाको कोभिड १९ का कारण मृत्यु भएको छ। यसअघि विराटनगर महानगरपालिका–५ का ७७ वर्षीय र ९ नम्बरका ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो।

हालसम्म कोशी अस्पतालमा ४ र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ गरी प्रदेश एकमा कुल ५ जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार