भारतकाे केरलमा विमान दुर्घटना : अहिलेसम्म १७ जनाको मृत्यु, १२३ जना घाइते

२०७७ श्रावण २४ शनिबार, एजेन्सी । भारतको केरल राज्यको कोझीकोडमा रहेको करिपुर एयरपोर्टमा विमान दुर्घटना हुदा अहिलेसम्म १७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १२३ जना घाइते भएका छन् भने १५ जनाको अवस्था चिन्ता जनक रहेको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

गएराति दुबईबाट आएको सो विमानमा चालक दलका सदस्यसहित १९० यात्री रहेको एयर इंडियाको विमान अवतरण गर्नेक्रममा चिप्लिएर दुर्घटना भएको थियो ।

विमान भारतीय समय अनुसार शुक्रबार साँझ  ७:४५ मा अवतरणको क्रममा चिप्लिएको बताइएको छ । विमानस्थलको रनवे टेबल टप रनवे भएको बताइएको छ ।

विमान ३० फिटको खाल्डोमा खसेको र दुई टुक्रा भएको थियो । विमानमा आगलागी नभएकोले धेरै यात्रुहरु सकुशल रहन सफल भएको बताइएको छ ।

विमानमा सवार १८४ यात्रु मध्ये १२८ पुरुष, ४६ महिला र १० बालबालिका रहेका थिए । दुर्घटनामा विमानका दुवै पाइलटको मृत्यु भएको बताइएको छ ।

बर्षा भइरहेकोले खराब भिजिविलिटीका कारण दुर्घटना भएको बताइए पनि दुर्घटनाको कारण बारे भने अझै यकिन भएको छैन ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार