युवामा काेराेना सक्रंमणदर बढ्दाे

२०७७ श्रावण २४ शनिबार, काठमाडौं । मुलुकमा २१ देखि ३० वर्ष उमेर समूहका कोरोना संक्रमितको संख्या अरू उमेर समूहको तुलनामा धेरै देखिएको छ । नेपालमा ३९.९ प्रतिशत कोरोना संक्रमित २१ देखि ३० वर्ष उमेर समूहका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार दोस्रोमा ३१ देखि ४० वर्ष उमेर समूहका २३.५ प्रतिशतमा संक्रमण छ । ११ देखि २० वर्ष उमेरका १५.४ प्रतिशत, ६१ देखि ७० वर्ष उमेरका ज्येष्ठ नागरिक १.५ प्रतिशत तथा ७१ वर्षभन्दा माथिका एक प्रतिशतभन्दा पनि न्यून संक्रमित छन् भने १० वर्षमुनिका बालबालिकाको संक्रमण ४ प्रतिशत छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा ७५ प्रतिशतभन्दा बढी संक्रमित २१ देखि ६० वर्ष उमेरसमूहका रहेको बताएका थिए । शुक्रबारसम्मको विविरण अनुसार नेपालमा संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । १५ हजार ८ सय १४ जना निको भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरि कति छन् आईसीयू र भेन्टिलेटर ?
हाल देशभरिमा भेन्टिलेटरमा ३ जनासहित सघन उपचार कक्ष (आइसीयु)मा ६४ जना गम्भीर बिरामी भइ उपचाररत छन् । प्रदेश नम्बर २ मा सबभन्दा धेरै ३२ जना आइसीयुमा छन् भने बाग्मती प्रदेशमा ३ जना भेन्टिलेटर सहित २९ जना आइसीयुमा छन् । प्रदेश नम्बर ५ मा दुई जना र प्रदेश नम्बर १ मा एकजना आइसीयुमा छन् ।

गम्भीर बिरामीको सङ्ख्या बढ्दै जाँदा देशका अस्पतालले थेग्न नसक्ने चिन्तामाझ स्वास्थ्य मन्त्रालयले अहिले करिब १५ सय गम्भीर बिरामीलाई पुग्ने औषधि तथा आईसीयूको सामग्रीको मौज्दात रहेको बताएको छ । ‘प्रयोगशालाका सामग्री दुई महिनाका लागि र पीपीई दुई महिनाका लागि पुग्ने स्टक छ । साथै थप आवश्यक सामग्री खरिदको काम प्रक्रियामा रहेको छ,’ प्रवक्ता डा. गौतमले बताए ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार हाल देशभरिमा २,६०० सघन उपचार कक्षका शय्या रहेका छन् भने ९०० भेन्टिलेटर रहेका छन् । ‘तीमध्ये कोभिड-१९ का बिरामीका उपचारका लागि २५० आइसीयू शय्या र भेन्टिलेटर थपिएका छन् भने अझै २४० आईसीयू शय्या थप्नका लागि प्रक्रिया अघि बढाइएको छ,’ प्रवक्ता गौतमले भने ।

उपचार खर्च कति ?
सरकारले कोभिड-१९ का बिरामीहरूको उपचार खर्च पनि तोकेको छ । त्यसअनुसार घरमै आइसोलेशनमा बस्नेहरूका निम्ति स्वास्थ्यकर्मीको पारिश्रमिकका लागि २०० रुपैयाँ प्रतिदिन प्रतिबिरामी तोकिएको छ ।

आइसोलेशन केन्द्रमा उपचाररतका निम्ति दिनको २,००० रुपैयाँ, अस्पतालमा भर्ना भएका मध्यम बिरामीको हकमा ३,५०० रुपैयाँ, मध्यम जटिल बिरामीको हकमा ७,००० तथा सघन उपचार कक्षमा उपचाररतको हकमा १५,००० रुपैयाँ प्रतिदिन तोकिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार