जसपाद्वारा पार्टीको आन्तरिक समायोजन निर्देशिका पारित

२०७७ श्रावण २५ आइतबार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको आन्तरिक समायोजन निर्देशिका पारित गरेको छ ।

निर्देशिका जारी भएसँगै अब पार्टीका अन्य पदाधिकारी चयनको बाटो खुलेको छ । बुधबारबाट सुरु भई शनिबार सम्पन्न बैठकले पार्टी एकताको आन्तरिक समायोजन निर्देशिका पारित गरेको हो ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादीको पहिलो केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको आन्तरिक समायोजनको निर्देशिका पारित गरेको केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले बताए । निर्देशिकाले पार्टीको समायोजन कसरी गर्ने, समायोजनका आधार के हुने भन्ने विषयमा टुंगो लगाएको हो ।

जसपाले तत्कालीन समाजवादी पार्टी र जसपाको क्रियाशील सदस्यता र निर्वाचनमा प्राप्त गरेको समानुपातिक मतका आधारमा समायोजन टुंगो लगाउने छ । बैठकले पछिल्लो समयमा सरकारले परराष्ट्र नीति सुधार गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

भारतसँगको सम्बन्ध बिगार्ने गरी सरकारले काम गरिरहेको आरोप लगाउँदै झाले चीन र भारत दुवै देशसँग सरकारले सन्तुलित सम्बन्ध कायम गरेर अगाडि बढ्न बैठकले सुझाव दिएको जानकारी दिए ।

त्यस्तै, कोरोना प्रभावित क्षेत्रमा प्रभावकारी उपस्थिति जनाउन पनि जसपाले सरकारलाई आग्रह गरेको छ । कोरोना भाइरसका कारण नेपालको कृषि, रोजगारी, शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको ठहर गर्दै जसपाले त्यसको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको झाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार