ढुङ्गा म

                                                                   – बुद्धि तिमल्सिना

मेरा बा आमाले राजमार्ग खन्दै गर्दा
घनले जोडसँग हान्दा
त्यसबाट निस्केको एक फप्ल्याटो ढुङ्गा
बर्षात्को खहरे हुँदै सुनकोसी पुग्दा
केही धारहरू मठ्याङ्ग्री सकेछ

ढुङ्गाको घमण्डी जुराहरू
कयौँ बज्राइबाट साम्य भएछन्
विषमताका काँडे नजरहरू, ठक्कर खाँदै
समानतातर्फ उन्मुख भएछन्
आज नदीमा स्वतन्त्र बगाउँदै छ,
समयको भेलसँगै, समयको बेगसँगै

त्यही ढुङ्गा हो पहरोबाट चोइटिएको
आज स्वरूप परिवर्तन हुँदै गोलो भएको छ
आज चौतर्फी समाकार भएको छ
त्यो ढुङ्गा अब गोलाकार भएर
नदीबाट किनार लागेको छ

अब यात्रीले टपक्क टिपेर
भान्सामा भित्र्याएको छ
त्यो ढुङ्गा आज स्वाद दिँदैछ

पारखीले बेला बेलामा स्वाद फेर्दैछ
सात, सत्र, छयालिस, त्रिसठ्ठी परिकार बनाएर
नौलो स्वाद दिएपनि
परिवारको हरेक पटक तृष्णा फेरिदैछ
लोहोरो एकोहोरो घोटिदो छ
आकार भने घट्दै छ
तैपनि धसिन बाध्य छ लोहोरो एकोहोरो

बाटाको साधुले टपक्क टिपेर
मन्दिरमा भित्र्याएको छ
आवश्यकता जति घोट्दैछ
निधारमा शीतलता, पवित्रता
दिने भनेर त्यही ढुङ्गो
ऊ पुजिदैन, देवता पुजिन्छ

उसलाई घोट्दा घोट्दा लादिएको छ
कसैको स्वार्थका लागि
उसलाई मन थियो साझा बन्न
मन्दिरमा, मस्जिदमा, गुम्बामा
चर्चमा घोटिएर बस्न
खुसी यति हो ऊ घोटिएर पनि प्रयोगमा छ,
कसैको उपयोगमा छ
त्यो गोलो ढुङ्गो खिइँदै भएपनि

                           

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार