रुसले भन्योः ‘जसलाई हाम्रो खोपमा विश्वास छैन, आफै बनाउनू’

२०७७ श्रावण २८ बुधबार, एजेन्सी । रुसले आविस्कार गरेको भनिएको कोरोना भाइरस विरुद्धको खोपबारे विश्व स्वास्थ्य संगठनले कुनै जानकारी नरहेको बताएपछि रुस आक्रोशित भएको छ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका सरकारी अधिकारीहरुले आफ्नो मुलुकले बनाएको खोप प्रभावकारी रहेको दाबी गर्दै जसलाई विश्वास लाग्दैन उसले आफै खोप आविस्कार गर्न चुनौती दिएका छन्।

राष्ट्रपति पुटिनले आफ्नो मुलुकले बनाएको खोप प्रभावकारी रहेको भन्दै अर्को महिनादेखि व्यापक उत्पादन सुरु गर्ने बताएका छन् । रुसी नियामक निकायले खोप प्रयोगको अनुमति दिइसकेको छ। तर विश्व स्वास्थ्य संगठनले भने परीक्षणकै चरणमा रहेको खोपलाई विश्वसनीय मान्न नसकिने बताएको छ।

रुसको खोपको तेस्रो चरणको परीक्षण भइनसकेका कारण विश्व स्वास्थ्य संगठनले यसलाई मान्यता नदिएको हो । परीक्षण सम्बन्धी पर्याप्त तथ्यांक पनि रुसले अन्य मुलुकलाई हस्तान्तरण गरेको छैन । तर, रुसले आलोचनालाई खारेज गर्दै आफ्नो खोप सुरक्षित रहेको दाबी गरेको छ।

रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले खोप असुरक्षित भन्ने आरोप आधारहीन रहेको र प्रतिस्पर्धाका कारण त्यस्तो आरोप लगाइएको बताएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार