म बलात्कार भएकी केटी

                                                          -देवका के.सी

बलात्कार भएकी केटी म
जीवनको चैन लुटिएकी केटी म
त्यही भएर त होला मेरो शरीर
म आफंैलाई बोझ लागिरहन्छ

कता कता गन्ध आएजस्तो लाग्ने
मेरो यो जिउँदो लासजस्तो शरीर
अस्मिता लुटिएको मेरो यो शरीर
जलाएर क्षणभरमै बिलिन गराइदिन मन लाग्छ

विश्वासै गर्न नसकिने
मलाई मेरै काकाले बलात्कार गरे
बर्षौंदेखि रोएँ न कसैलाई पीडा पोख्न सकेँ
मात्रै भित्रभित्रै जलिरहे

जिउँदै मरेजस्तो लाग्छ तैंले छोएर
आँसु मेरा सुकी सके लुकी लुकी रोएर
रुनु मेरो आदत भैसकेको छ
पीडा लुकाउनु मेरो बाध्यता नै भएको छ

न त आजसम्म त्यो पीडालाई भुल्न सकेँ
न त खुसीले बाँच्न सकेँ
त्यही घातक पीडा सहँदै
ज्यूँदै मरेतुत्य भई बाँचिरहेँ

धेरैका पीडाहरू ‘मि-टु’ ले पनि फुटाए
तर मेरो पीडा त कुनै तत्त्व फुटाउन सकेन
मेरो गम्भीर मनभित्रको घाउ
सायद मेरो मृत्युसँगै अन्त्य हुन्छ होला

समाजले मलाई पीडा लुकाउन लगायो
भित्रभित्रै जलेर बाँच्न बाध्य बनायो
म ज्यूँदै मरेर अरूलाई बाँच्न दिएँ
म मेरो लागि होइन अरूकै खुसीका लागि बाँचिरहेँ

मैले यो कुरा आमालाई भनेको भए
उनी पनि आज म जस्तै गरी
पीडै पीडामा बाँच्ने थिइन होला
मेरो परिवारभित्रको माहौल पनि अर्कै भैदिन्थ्यो होला

न त मेरो घरबार हुन्थ्यो होला
न त मैले यतिधेरै मायागर्ने जीवनसाथी नै पाउथेँ होला
न त म आमा बन्थेँ होला
न त मैले यो सम्मानित जीवन जिउन पाउथेँ होला

जलेँ त केवल म मात्र जलेँ
लाजै नभएको त्यो बलात्कारी काका
लाग्छ हरबखत देखिने त्यो कलङ्क
मेरो नजरबाट सधै हराइदिए हुन्थ्यो होला

हरक्षण भगवानलाई पुर्काछु मलाई त्यो क्षण
जादुजस्तै गरी भुल्न सक्ने शक्ति देऊ
मलाई मेरो जिन्दगी शान्तिले जिउन देऊ
मलाई पश्चाताप विना खुसीले बाँच्न देऊ, हाँस्न देऊ

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार