मालीमा सैनिक कु, राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा

२०७७ भाद्र ३ बुधबार, एजेन्सी । अफ्रिकी मुलुक मालीका राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाले नियन्त्रणमा लिएको छ । राष्ट्रपति इब्रहिम बुबाकार केयटा र प्रधानमन्त्री बूबू सीशेलाई सैनिकले गिरफ्तार गरेको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।

उनीहरूलाई मालीको राजधानी बमाकोबाट करिब १५ किलोमिटर टाढा रहेको कटीस्थित एउटा मुख्य सैन्य शिविरमा राखिएको जनाइएको छ । सो ठाउँमा गोली चलेको आवाज पनि सुनिएको स्थानीयले बताएका छन् ।

कनिष्ठ सैनिक अधिकृतले त्यहाँका उच्च कमान्डरलाई कब्जामा लिएर छाउनी नियन्त्रणमा लिएपछि विद्रोही सैनिकहरु राजधानीमा व्यापक मात्रामा देखिएका छन् । सैनिकहरुले राष्ट्रपतिका छोरा, माथिल्लो संसदका सभामुख, विदेशमन्त्री, अर्थमन्त्रीलागयतलाई पनि नियन्त्रणमा लिएको जनाइएको छ ।

सैनिक छाउनीका उपप्रमुख कर्णेल मलिक डिव र अर्का कमान्डर जनरल सादिओ कमाराको नेतृत्वमा सैन्य कु भइरहेको बताइएको छ । तर सैन्य विद्रोहमा के कति सहभागी छन् र किन उनीहरुले विद्रोह गरेका हुन भन्ने बारेमा स्पष्ट नभएको समाचारमा लेखिएको छ ।

राजधानीमा युवाहरूले सरकारी स्वामित्वको एउटा भवनमा आगो लगाइदिएका छन् भने मालीमा बृहत प्रदर्शनहरूका साथ महिनौँदेखि राजनीतिक आन्दोलन भइरहेको छ ।

प्रदर्शनकारीहरूले राष्ट्रपति इब्रहिम बुबाकार केयटाको राजीनामा मागिरहेका थिए। त्यही आन्दोलनको बलमा सैनिकले कब्जा गर्ने मौका पाएको विश्लेषकहरुले बताएका छन् ।

देशमा भ्रष्टाचार, अर्थतन्त्रको खराब व्यवस्थापन, जिहादीका कारण बिग्रिँदै गएको सुरक्षा अवस्था र बढ्दो जातीय हिंसालाई लिएर मालीमा व्यापक असन्तुष्टि रहेको छ।राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले घटनाको निन्दा गर्दै राष्ट्रपति र प्रधानमन्त्रीलाई बिनासर्त मुक्त गर्न आग्रह गर्नु भएको छ । उहाँले संवैधानिक व्यवस्था तत्काल पुनस्र्थापित गर्न पनि माग गर्नुभएको छ ।

त्यसैगरी पश्चिम अफ्रिकाको क्षेत्रीय सङ्गठन इकोनोमिक कमिटी अफ वेस्ट अफ्रिकन स्टेट्स, अफ्रिकी सङ्घ र फ्रान्सले पनि विद्रोहको निन्दा गर्दै सैनिकहरूलाई छाउनीमा फर्किन आग्रह गरेका छन् । इस्लामिक विद्रोहीसँग लड्न भन्दै मालीमा फ्रान्सेली सैनिकहरु पनि लगिएका छन् । मालीमा राष्ट्रपति केयटा दोस्रो कार्यकालको निम्ति सन् २०१८ को चुनावबाट निर्वाचित हुनु भएको हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार