भारतमा शनिबार एकैदिन ५९ हजार कोरोना संक्रमित निको भए

२०७७ भाद्र ७ आइतबार, काठमाडौं । भारतमा एकैदिन शनिबार ५९ हजार १०१ कोरोनाभाइरस संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्। भारतमा एकैदिन संक्रमणमुक्त भएको यो अहिलेसम्मकै ठूलो संख्या हो।

भारतमा कुल ३० लाख ४३ हजार जनालाई कोरोना संक्रमण भइसकेको छ। तीमध्ये २२ लाख ७९ हजार ९०० जना संक्रमणमुक्त भइसकेका छन्। अब त्यहाँ सक्रिय संक्रमित सात लाख ६ हजार छन्।

हिजो एकैदिन ७० हजार नयाँ संक्रमित थपिएका छन्। यो पनि एकैदिन भेटिएको संक्रमितको अहिलेसम्मकै ठूलो संख्या हो। यसअघि १९ अगष्टमा एकै दिन ६९ हजार १९६ संक्रमित फेला परेका थिए।

भारतमा हिजै ९१८ संक्रमितको मृत्यु भयो। त्यहाँ अहिलेसम्म ५६ हजार ८४६ जनाको मृत्यु भइसकेको छ।

यसैबीच भारतका स्वास्थ्य मन्त्री डा. हर्ष वर्धनले कोरोनाको एउटा खोपको तेस्रो चरणको परीक्षण चलिरहेको बताएका छन्। उनले यो वर्षको अन्त्यसम्ममा भारतले खोप बनाइसक्ने विश्वास व्यक्त गरेका छन्।

उनले भारतमा संक्रमणदर बढिरहे पनि मृत्युदर कम रहेको दाबी गरेका छन्। त्यहाँ मृत्युदर १.८७ प्रतिशत र संक्रमणमुक्त हुने दर ७५ प्रतिशत छ।

अमेरिका र ब्राजिलपछि भारतमा सबैभन्दा धेरै संक्रमित छन्। तर, अमेरिका र ब्राजिलपछि मेक्सिकोमा बढी मृत्यु भएको छ।

दैनिक भाष्करबाट

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार