२४ घण्टा नबित्दै कोरोनाबाट नेपालमा थप ७ जनाले ज्यान गुमाए

२०७७ भाद्र १० बुधबार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा नबित्दै थप ७ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । पर्सामा २, महोत्तरी, बाँके, कैलाली, विराटनगर र काठमाडौंमा एक–एक गरी थप ७ जना संक्रमितको मृत्यु भएको हो ।

वीरगञ्जको कोभिड अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु भएको छ । गएराति बाराका दुई संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । बाराको विश्रामपुर गाँउपालिका १ छतवाका ४२ वर्षीय पुरुषको राति मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसीयाले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार छतवाका ४२ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिनुका साथै ज्वरोसमेत आएपछि बुधबार पिसिआर जाँच गराउँदा कोरोना पोजिटिभ पुष्टि भएपछि अस्थायी कोभिड अस्पतालमा भर्ना भएका थिए ।

वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमै ७ दिनदेखि उपचाररत बाराकै कलैया उपमहानगरपालिकाका ७० वर्षीय पुरुषको पनि गएराति मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएपछि उनी त्यहीदिन अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा उनको राति मृत्यु भएको डा. चौरसियाले जानकारी दिनुभयो ।

त्यस्तै, महोत्तरीका कोरोना संक्रमित पुरुषको विराटनगरमा मृत्यु भएको छ । विराटनगरको न्युरो अस्पतालमा भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालका डाइरेक्टर इञ्जिनियर रञ्जितराज बस्नेतका अनुसार गएराति संक्रमितको मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण गएराति मृत्यु भएको छ । विराट शिक्षण अस्पतालमा उपचारका क्रममा राति ती महिलाको मृत्यु भएको हो ।

स्वाब संकलन गरेर कोशी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षण रिपोर्टमा महिलाको मृत्यु हुनुभन्दा केही बेरअघि मात्रै पोजेटिभ आएको थियो ।

त्यस्तै, बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा ३७ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ का ती पुरुष सामान्य रुघाखोकी देखिएपछि सोमबारदेखि अस्पताल उपचाररत थिए ।

उनको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्घले जानकारी दिनुभयो ।

यता, पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित एकजना पुरुषको गयराति मृत्यु भएको छ ।

कोरोना संक्रमण देखिएपछि साउन २३ गतेदेखि पाटन अस्पताल भर्ना भएका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार मृतक पुरुष काठमाडौंका हुन् ।

उता, कोरोना संक्रमण पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका एक बिरामीको आज बिहान मृत्यु भएको छ । मृतक कैलालीको गोदावरी नगरपालिका –११ घर भएका ४५ बर्षीय पुरुष हुन् ।

सुरुमा धनगढीकै निजी अस्पतालको आइसियुमा उपचार गराइरहेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार सेतीमा भर्ना गरिएकोमा आज विहान उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार