लियोनल मेस्सीकाे क्लब छाड्ने निर्णयले गर्माएको अन्तराष्ट्रिय फुटवल

२०७७ भाद्र १० बुधबार, काठमाडौं । छैठौं बालोन डीअर विजेता बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले क्लब छोड्ने घोषणा गरे लगत्तै विश्व फुटवल तरंगित भएको छ । च्याम्पियन्स लिगमा जर्मन क्लब बार्यन म्युनिखसँग ८–२ गोलको लज्जास्पद हारपछि मेस्सीले क्लब छोड्ने निर्णय गरेपछि उनका फ्यानहरुले क्लबकै विरुद्ध नाराबाजी समेत गरेका छन् । मेस्सीलाई जान दिन नहुने भन्दै बार्सिलोनामा मेस्सी समर्थकहरुले क्लबका बर्तमान अध्यक्ष जोसेफ मारिया बार्टेमेउकै राजिनामा मागेका छन् ।

बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले बार्सा कप्तान मेस्सीसँग केही दिन अगाडी भेट गरेर क्लब छाड्ने नछाड्ने धारणा बुझेका थिए । त्यसबेला नै मेस्सीले स्पष्ट रुपमा बार्सिलोनामा अब आफ्नो भविष्य नभएको बताउँदै क्लब छाड्ने निर्णय सुनाएका थिए ।

मेस्सीले फुटवल करियरका सबै सफलता बार्सिलोनाबाट हासिल गरेको र उनी क्लबको मुख्य खम्बा भएकाले क्लब छाडि हान्न नसक्ने नयाँ प्रशिक्षकले बताएपनि मेसीले मंगलबार क्लबलाई पत्र लेख्दै आफ्नो बर्हिगमनलाई सहज बनाइदिन अनुरोध गरेका थिए । मेस्सीको पत्रपछि भने अन्तराष्ट्रिय फुटवल मार्केट गर्माएको छ । विश्वकै महान खेलाडी मेस्सीलाई कुन क्लबले भित्र्याउन सक्छ अड्कलबाजी भइरहेको छ ।

मेस्सीले औपचारिक रुपमा ब्यूरोफ्याक्स मार्फत क्लबका व्यवस्थापनलाई क्लब छोड्न चाहेको पत्र पठाएपछि बार्सिलोना व्यवस्थापनले पनि आकस्मिक बैठक बोलाइएको छ । क्लबमा मेस्सीको सम्झौता सन् २०२१ जुनसम्म रहेको छ । यद्यपि, मेस्सीले सम्झौतामा रहेको प्रावधान अनुसार क्लब छाड्ने वातावरण बनाइदिन अनुरोध गरेका हुन् ।

‘यो पत्रको माध्यमबाट, म, लिओनेल आन्द्रेस मेस्सी कुचीटिनि, आइडी नम्बर (खालि) बाट, अनुरोध गर्दछु की क्लबसँग रहेको मेरो व्यावसायिक सम्झौता रद्द होस् । सम्झौतामा रहेको बुँदा नम्बर २४ ले मलाई यो अधिकार प्रदान गरेको छ ।
मेरो व्यक्तिगत विकास र व्यावसायिक सम्बन्ध विकासका लागि क्लबले मेरो यहाँको बसाइभर दिएको अवसरप्रति म आभारी छु ।
मैले यहाँ प्राविधिक र व्यक्तित्व विकासमा धेरै कुरा सिक्ने अवसर पाएँ । अहिले भने व्यक्तिगत कारण (खाली) का कारण म कठिन निर्णय लिन बाध्य छु । मलाई आशा छ मलाई क्लब व्यवस्थापनले सहज रुपमा समन्वय गर्नेछ ।’

मेस्सीले ब्यूरोफ्याक्स मार्फत क्लबलाई पठाएको पत्रमा उल्लेख छ ।

क्लबले मेस्सीको रिलिज क्लज ७ सय मिलियन यूरो राखेको छ । यो रकम तिर्न जुनसुकै ठूला क्लबहरुले सोच्नै पर्छ । युरोपका केही ठूला क्लबहरु इन्टर मिलान, म्यानचेष्टर सिटी, पेरिस सेन्ट जर्मेनले मात्र उक्त रकम तिर्न सक्छन् । तथापि, त्यसमा पनि उनीहरुले आफ्ना केही स्टार खेलाडी ट्रान्सफर गरेर मात्र मेस्सीलाई भित्र्याउने सामथ्र्य राख्छन् । बार्सिलोनाका अध्यक्ष बार्टेमेउले तत्कालै ७ सय मिलियन तिरेर मेस्सी लैजान सक्ने बताइसकेका छन् ।

३३ वर्षिय मेस्सीले अहिलेसम्म कुन क्लबमा जान्छन् भनेका छैनन् । त्यसो त उनी अझै बार्सिलोनामै बस्ने अवस्था पनि छ । च्याम्पियन्स लिगमा व्यहोरेको लज्जास्पद हारपछि क्लब व्यवस्थापनले प्रशिक्षक परिवर्तन गरिसकेको छ भने क्लबमा रहेका उमेर ढल्कँदै गएका तथा कमजोर प्रदर्शन गरेका खेलाडीहरुलाई विदा गर्ने निर्णय गरेको छ । मेस्सीसँग राम्रो ट्युनिङ भएका लुईस स्वारेजलाई समेत नयाँ प्रशिक्षकले विदा गर्ने जनाउ दिइसकेका छन् । आधा दर्जन बढी खेलाडी बार्सिलोनाबाट बाहिरिने भएका छन् । यस्तो अवस्थामा बार्सिलोनाका मुख्य खेलाडी मेस्सीकै सल्लाह अनुसार नयाँ खेलाडी भित्र्याएर मेस्सीसँग नयाँ सम्झौता गरे उनी क्लबमा बस्न सक्छन् । यद्यपि, पछिल्लो समय क्लबका अध्यक्षसँग लियोको असन्तुष्टि छ ।

कहाँ जालान् मेस्सी ?

अन्तराष्ट्रिय फुटवल मार्केटमा अहिले तातिएको विषय नै हो मेस्सीको बर्हिगमन । जुन क्लबले मेस्सी भित्र्याउन सक्छ स्वतः उसले फुटवल मार्केटमा उथलपुथल ल्याउँछ ।

जहाँसम्म अनुमानको कुरा छ बार्सिलोनामा रहँदा बर्तमान सिटीका प्रशिक्षक पेप ग्वार्डिओला र मेस्सीको सम्बन्ध सुमधुर थियो । ग्वार्डिओला कै प्रशिक्षणमा मेस्सीले जीवनकै ठूला उपाधि हासिल गरेकोले उनी सिटी जान सक्ने सम्भावना प्रवल रहेको अन्तराष्ट्रिय फुटवल सञ्चार संस्थाहरुको दावि छ । मेस्सीलाई लिन सक्ने आर्थिक अवस्था भएको क्लब मध्ये सिटी एक हो । सिटीमा मेस्सीका मिल्ने साथी सर्जियो अगुएरो पनि छन् ।

योसँगै इटालीको युभेन्टस, इन्टर मिलान तथा फ्रान्सको पिएसजीले पनि मेस्सी प्रति इच्छा देखाएका छन् । युभेन्टसले अर्का स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र मेस्सीलाई सँगै खेलाउने चाहना राखेको छ । मेस्सी र रोनाल्डो बर्तमान फुटवल जगतका उत्कृष्ट खेलाडी हुन् ।

यता ब्राजिलियन स्टार नेइमार सम्मिलित पिएसजीले पनि मेस्सीलाई भित्र्याउन खोज्दैछ । च्याम्पियन्स लिगमा बार्यनसँगको पराजयपछि पिएसजी प्रशिक्षकले पनि मेस्सीलाई ल्याएर नेइमार, केलियन एम्बापेलाई मैदानमा उतार्ने पक्षमा छन् । नेइमारसँग मेस्सीको व्यक्तिगत सम्बन्ध पनि राम्रो छ । बार्सिलोनामा मेस्सी, स्वारेज र नेइमारको ट्युनिङ उत्कृष्ट थियो ।

मेसीले बार्सिलोनाका लागि अहिलेसम्म ६४५ गोल गरेका छन् । उनले क्लबका लागि ३४ ट्रफी उचालेका छन् जसमा ४ वटा युरोपियन च्याम्पियन्सीप रहेको छ । उनले ला लिगामा १० वटा ट्रफि जितेका छन् । ६ पल्ट कोपा डेल रे तथा तीन पल्ट क्लब विश्वकपको ट्रफि उचालेका छन् । यसका अलावा मेस्सीले फ्रान्सको प्रतिष्ठित फुटवल अवार्ड बालन डिअर किर्तिमानी ६ पल्ट जितेका छन् । गोल्डेन शुज पनि ६ पल्ट प्राप्त गरेका छन् ।

मेस्सी बार्सिलोनाका सर्वाधिक गोलकर्ता हुन् । उनले अहिलेसम्म क्लबका लागि ६३४ गोल गरिसकेका छन् । मेसीले सन् २०१२ मा क्लब र देशका ९१ गोल गरेका थिए । जुन आफैंमा किर्तिमान हो । उनले सो वर्ष बार्सिलोनाका लागि ७९ गोल र अर्जेन्टिनाका लागि १२ गोल गरेका थिए ।

मेस्सी ला लिगाको सर्वाधिक गोलकर्ता पनि हुन् । मेस्सीले अहिलेसम्म ला लिगामा ४४४ गोल गरेका छन् ।

मेस्सीले बार्सिलोनाबाट १३ वर्षको उमेरमा फुटवल खेल्न थालेका हुन् । सन् २००४ बाट बार्सिलोनाको ए डिभिजन टीमबाट फुटवल खेल्न शुरु गरेका मेस्सीले यो सिजनको अन्त्यसँगै क्लबबाट बाहिरिने निर्णयगर्दा बार्सिलोनाका करोडौं फ्यानहरु निराश भएका छन् । यद्यपि, क्लबले मेस्सीसँग अझै वार्ता गर्न चाहिरहेको अवस्थामा उनको बर्हिगमन रोक्न पनि सकिने फुटवल पण्डितहरुको अनुमान छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार