स्कटल्याण्डमा बन्दैछ १२ मिनेटमै कोरोना परीक्षण गर्ने मेसिन थप सामग्री

२०७७ भाद्र ११ बिहीबार, एजेन्सी । स्कटल्याण्डको एक कम्पनीमा १२ मिनेटमै कोरोना परीक्षण गर्न सक्ने मेसिन र किटको निर्माण अन्तिम चरणमा पुगेको छ। सरकारसँगको सम्झौतापछि उक्त कम्पनीले यस्तो मेसिन र किट बनाउन थालेको हो।

स्कटल्याण्डको स्वास्थ्य सेवा विभागले त्यहाँको लुमिराडिएक्स नामको कम्पनीसँग १२ मिनेटमै कोरोना परीक्षणको नतीजा निकाल्न सक्ने मेसिन र किट बनाउने सम्झौता गरेको थियो। यसका लागि त्यहाँको सरकारले ३०० परीक्षण मेसिन र पाँच लाख परीक्षणका लागि ६७ लाख पाउन्ड खर्च गर्दैछ।

स्वास्थ्य उपकरण बनाउने कम्पनी लुमिराडिएक्सले स्टरलिङमा रहेको आफ्नो कारखानमा मेसिन र किट बनाउनेछ। यो परीक्षणमा प्रयोग हुने मेसिनलाई एक ठाउँबाट अर्को ठाउँसम्म सजिलै लैजान सकिने छ। साना क्लिनिक र मोबाइल अस्पतालमा पनि प्रयोग गर्न सकिनेछ।

कोभिड–१९ बिरामी गर्ने सार्स–कोभ–२ भाइरसको परीक्षणको मान्यता अमेरिकाको फेडरल ड्रग एडमिनिस्ट्रेशनले दिन्छ। स्कटल्याण्ड र युरोपका लागि यस्तो मान्यता दिने प्रक्रिया अन्तिम चरणमा छ।

स्कटल्याण्डका एक मन्त्री इवान मैक्कीले भनेका छन्, “लुमिराडिएक्ससँग भएको करार अनुसार उक्त कम्पनीले हाम्रो स्वास्थ्य सेवा एजेन्सीका लागि १२ मिनेटमा गर्न सकिन कोरोना परीक्षणको सामान दिन्छ। भाइरसविरुद्धको लडाइमा यो महत्वपूर्ण हुनेछ।”

यो परीक्षणमा प्रयोग हुने उपकरणका लागि एउटा खास प्रकारको ‘स्ट्रिप’ प्रयोग हुनेछ। यो स्ट्रिप स्कटल्याण्डमा मात्र बन्ने मन्त्री मैक्कीले बताएका छन्। यसले स्कटल्याण्डमा रोजगारी पनि बढाउने उनको भनाइ छ।

यो परीक्षणका लागि नाकबाट लिएको स्वाब प्रयोग हुनेछ। लुमिराडिएक्सका प्रमुख कार्यकारी रान ज्वानजिगरले यो परीक्षणबाट नतीजा छिटो आउने मात्र नभइ भरपर्दो पनि हुने बताएका छन्।

-बीबीसी हिन्दीबाट

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार