२०७७ भाद्र १५ साेमबार, एजेन्सी । अमेरिकाको पोर्टल्याण्डमा भएको हिंसालाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका डेमोक्र्याटिक प्रतिद्वन्दी जो बाइडेनबिच वाक–युद्ध चलेको छ ।
ओरिकगन राज्यको पोर्टल्याण्डमा रंगभेदविरुद्ध प्रदर्शन गरेका ब्ल्याक लाइभ्स म्याटरका प्रदर्शनकारी र ट्रम्पका समर्थकबिच झडप भएको थियो । त्यसक्रममा गोली चल्दा एकजनाको ज्यान गएको छ । राष्ट्रपति ट्रम्पले पोर्टल्याण्डका डेमोक्र्याटिक मेयर टेड ह्वीलरलाई आफ्ना शहरमा हिंसा र हत्यालाई स्वीकृति दिएको आरोप लगाएका छन् ।
तर पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेनले पोर्टल्याण्डसहित देशका विभिन्न स्थानमा हिंसा बढ्नुमा ट्रम्प कारक रहेको बताएका छन् । ट्रम्पले परिणामको विचारै नगरी हिंसालाई बढावा दिएको बाइडेनले बताएका छन् ।
शनिबार राति ट्रम्प समर्थक र ब्ल्याक लाइभ्स म्याटरका प्रदर्शनकारीबिचका झडपमा गोली लागेर एक व्यक्तिको मृत्यु भएकोमा ट्रम्पले मृत्यु हुने व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
ती व्यक्तिको पहिचान खुलाइएको छैन, तर अमेरिकी सञ्चारमाध्यमका अनुसार उनी ट्रम्पका समर्थक हुन् । तर ट्रम्पले अहिलेसम्म विस्कनसिनको केनोशामा ढाडमा प्रहरीले चलाएको सातवटा गोली लागेर मृत्युबाट जोगिन संघर्ष गरिरहेका ज्याकोब ब्लेकका सम्बन्धमा केही बताएका छैनन् ।
गएको मे २५ मा मिनेशोटाको मिनियापोलिसमा प्रहरी ज्यादतीका कारण निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको निधन भएपछि अमेरिकाभर प्रहरी ज्यादती र रंगभेदविरुद्ध आन्दोलन हुँदै आएको छ । सो आन्दोलनको केन्द्र बन्दै आएको छ ओरिगनको पोर्टल्याण्ड शहर ।
राष्ट्रपति ट्रम्पले आइतबार शृङ्खलाबद्ध ट्वीट गरेर पोर्टल्याण्डका ‘मुर्ख’ मेयरका कारण हिंसा भड्किएको आरोप लगाएका हुन् । उनले पोर्टल्याण्डमा संघीय सुरक्षाकर्मी पठाउने पनि उल्लेख गरेका छन् । ट्रम्पले बाइडेन ‘नेतृत्वका लागि अनइच्छुक’ रहेको आरोप पनि लगाएका छन् ।
बाइडेनले वक्तव्य जारी गरेर भनेका छन्, ‘ट्रम्पले कानून र कानूनी व्यवस्थाका बारेमा ट्वीट गरेर उनलाई शक्तिशाली बनाउने कुरामा विश्वास गरेका हुन सक्छन्, तर आफ्ना समर्थकहरुलाई हिंसाको मार्ग नअपनाउन अपिल गर्न उनले सकेका छैनन् र यसले नै उनी कति कमजोर छन् भन्ने स्पष्ट हुन्छ।’
आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरिरहेका ट्रम्पले ‘ल एण्ड अडर’ लाई प्रमुख मुद्दा बनाएका छन् । उनले डेमोक्र्याट र उनीहरुका उम्मेदवार जो बाइडेनलाई अपराधप्रति नमर रहेको भनि आरोप लगाउने वा सो रुपमा प्रस्तुत गर्ने प्रयास गर्दै आएका छन् ।
पोर्टल्याण्डका मेयर ह्वीलरले ट्रम्पको आरोपको प्रतिकार गर्दै देशमा विभाजन र घृणा भावको सिर्जना गर्ने व्यक्ति अरु कोही नभएर राष्ट्रपति स्वयम रहेको बताएका छन् । उनले भनेका छन्, ‘राष्ट्रपतिले सहयोग गरे र हाम्रो शहरको मामिलाबाट परै बसे भने त्यसको सरहाना गर्ने छु ।’
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो