अमेरिकालाई उछिन्दै भारतमा एकैदिन देखियो अहिलेसम्मकै उच्च संक्रमण

२०७७ भाद्र १५ साेमबार, काठमाडौं । भारतमा विश्वकै अहिलेसम्मको एकैदिनको उच्च सङ्क्रमण वृद्धि पाइएको छ । विश्वको तेस्रो उच्च सङ्क्रमित सङ्ख्या रहेको भारतमा आइतवार ७८ हजार ७८१ जना सङ्क्रमित थपिएका छन् ।

यसअघि १७ जुलाईमा ७८ हजार २९९ सङ्क्रमित सहित अमेरिकामा विश्वकै उच्च दैनिक सङ्क्रमण पाइएको थियो । दशौँ लाखले रोजगारी गुमाएको मार्च महिनायताको पुष्ठभूमिमा सरकारले अर्थतन्त्र उकास्ने प्रयासस्वरूप प्रतिबन्धहरू क्रमश: हटाइरहँदा त्यस्तो वृद्धि देखिएको हो ।

आइतवार विश्वमा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या साढे दुई करोड नाघ्दा कोभिड-१९ भएर ज्यान गुमाउनेको सङ्ख्या आठ लाख ४३ हजार पुगेको छ । जोन्स् हप्किन्स् विश्वविद्यालयको अनुसन्धानका अनुसार करिब ६० लाख सङ्क्रमितहरू सहित अमेरिका सबैभन्दा उच्च प्रभावित देशको रूपमा छ ।

अबको चिन्ता: ग्रामिण क्षेत्र

धेरै ग्रामिण क्षेत्रमा कोभिड-१९ वृद्धिको क्रम देखिनु यतिखेर मुख्य सरोकार बनेको छ । मुटुरोग विशेषज्ञ मनोज कुमारले समाचार संस्था रोयटर्सलाई भने, ‘यस्तो उच्च वृद्धि देखिनुको कारण सङ्क्रमण ग्रामिण भेगमा फैलिनु हो ।’

कोभिड-१९ को महामारी सुरु हुँदा भारतको अवस्था ठिकठिकै थियो। त्यसबेला कडा लकडाउन गरिएको थियो । तर भाइरस साना सहर वा गाउँमा फैलनुअघि मुम्बई र दिल्लीजस्ता ठूला सहरमा देखिन थाले ।

तैपनि सरकारले प्रतिबन्ध खुकुलो पार्न चाहिरहेको देखिन्छ । अर्को महिनाबाट मास्क र सामाजिक दूरी कायम राख्दै एक सयजनासम्म भेला हुन पाइने सांस्कृतिक, मनोरञ्जन र खेलकुदका गतिविधि सञ्चालन हुने छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार