कोरोनाका कारण विश्वको साढे आठ लाख जनसङ्ख्या घट्यो, अझै भयावह अवस्था

२०७७ भाद्र १६ मङ्गलबार, काठमाडौं । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) ले हालसम्म विश्वको साढे ८ लाख जनसङ्ख्या घटिसकेको छ । डिसेम्बर अन्तिममा चीनको वुहानबाट सङ्क्रमण सुरु भएको भाइरसले विश्वभर भयावह स्थिति पैदा गरेको छ । चीनमा भने यसको सङ्क्रमण नियन्त्रणमा आइसकेको छ । तर अन्य देशमा अझै फैलिइरहेको छ ।

आज सम्म विश्वको कूल २ करोड ५६ लाख जनसङ्ख्या कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । जसमध्ये १ करोड ७९ लाख भन्दा बढी जनसङ्ख्यालाई निको भइसेको छ भने ६८ लाख ३८ हजार भन्दा बढी अस्पतालमै उपचाररत छन् । ६१ हजार भन्दा बढी अझै सिरियस अवस्थाका बिरामी रहेका छन् भने करिब साढे ६७ लाख जनसङ्ख्या मध्यम खाले अवस्थामा उपचाररत रहेका छन् ।

यो तथ्याङ्क हेर्दा कोरोना कै कारण अझै मृतकको सङ्ख्या बढ्न सक्ने आङ्कलन गरिएको छ । ओरल्डओमिटरका अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित रहेको देश युएसए छ । जो कोरोना सङ्क्रमणका हिसाबले अहिलेसम्म विश्वमै १ नम्बरमा रहेको छ । युएसएमा मात्रै एक लाख ८७ हजारले ज्यान गुमाएका छन् । ६२ लाख २१ हजार भन्दा बढी सङ्क्रमित पुगेका छन् । जसमध्ये साढे २५ लाख भन्दा बढी केस एक्टिभ छन् भने १५ हजार बढी सिरियस केस रहेको बताइएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा पनि १ लाख २१ हजार बढीको मृत्यु भइसकेको छ । सङ्क्रमितको सङ्ख्या ३९ लाख ९१ हजार भन्दा बढी पुगेको छ । जसमध्ये ३० लाख भन्दा बढीलाई निको भइसकेको छ । यस्तै तेस्रो स्थानमा भारत पुगेको छ । भारतमा सङ्क्रमितको सङ्ख्या ३६ लाख ९४ हजार भन्दा बढी पुगेको छ । ज्यान गुमाउनेको सङ्ख्या ६५ हजार भन्दा बढी रहेको छ । रसियामा पनि १० लाख भन्दा बढी सङ्क्रमित भइसकेका छन् । १७ हजार जनाले ज्यान गुमाएको छ ।

यस्तै उच्च सङ्क्रमण रहेका देशहरूमा पेरु, साउथ अफ्रिका, कोलम्बिया, मेक्सिको, स्पेन, अर्जेन्टिना, चिली, इरान, युके, साउदी, बंग्लादेश, पाकिस्तान, फ्रान्स, टर्की, इटाली, जर्मनी, इराक, फिलिपिन्स, इन्डोनेसिया, क्यानडा आदि छन् । हाल कोभिड–१९ प्रभावित देशहरू २१३ रहेका छन् । हालसम्म १० देशमा भने कोरोना सङ्क्रमण देखिएको छैन ।

नेपालमा पनि हालको अवस्थालाई हेर्ने हो भने तीव्र रूपमा सङ्क्रमण फैलिरहेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ४० हजार नाघिसकेको छ । ख्याल ख्यालमै फैलिएको यो भाइरसले ज्यान गुमाउनेको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । आज सम्म मात्रै २३९ जनाको मृत्यु भइसकेको छ । दोस्रो चरणमा प्रवेश गरिसकेको भाइरस सङ्क्रमणले अहिले अवस्था जटिल बनाउँदै गएको छ । तीव्र सङ्क्रमण दर रहेको यो भाइरसले रोगी, वृद्ध, वृद्धा, बालबालिका, तथा कमजोर, प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई समस्या निम्त्याइरहेको छ । यसको मतलब रोगीहरूलाई मात्रै यो भाइरस लाग्छ अरूलाई लाग्दैन भन्ने हुँदैन । भाइरसले जुनसुकै बेला जसलाई पनि सङ्क्रमित बनाउने र शरीरको रोगसँग लड्ने क्षमता कमजोर बनाउँदै जाने देखिएको छ । भाइरससँग लड्ने क्षमता ह्रास हुँदै गएमा व्यक्तिको अवस्था जटिल आउने देखिएको छ ।

एक पटक नियन्त्रणमा आइसकेको भाइरस फेरी पुनः अर्को चरणमा प्रवेश गरी समुदाय स्तरसम्म फैलिइसकेको छ । हालकै अवस्थामा फैलिँदै गयो भने नेपालमा उपचारका लागि पनि सम्भवतः अस्पताल र डाक्टरहरूकै अभावले गर्दा उपचार नै नपाइ ज्यान गुमाउनु पर्ने अवस्था नआउला भन्न सकिन्न ।

सोच्दा सामान्य लाग्ने यो भाइरस अन्य सङ्क्रामक रोग भन्दा पनि कयौँ गुना खतरनाक रहेको देखिएको छ । रुघाखोकी कै जस्ता लक्षण देखिए पनि कमजोर व्यक्ति, शरीरको प्रतिरक्षा प्रणाली कम भएको, दीर्घ रोगी, मुटु, कलेजो, मिर्गौला, फोक्सोलगायतमा समस्या भएका बिरामीहरूका लागि भने निकै घातक साबित भइसकेको छ ।

तीव्र रूपमा सर्ने हावाबाट नसर्ने, बिरामीसँगको प्रत्यक्ष सम्पर्क अथवा थुकका छिट्टा बाट सर्ने अनुमान गरिएको छ । सामान्य रुघाखोकी पनि हावाको माध्यमबाट सर्छ तर बढीमा एक हप्तासम्ममा मात्रै रहन्छ । रुघाखोकी लाग्दा पनि श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, घाँटी दुख्ने, आदि जस्ता लक्षणहरू देखा पर्छन् । तर कोरोनाका लक्षण पनि प्रायः यस्तै खाले भएकाले रुघाखोकी कै अर्को रूपमा पनि लिइएको छ ।

चीनमा फैलिएको यो भाइरसलाई चीनमै छँदा खेरी विश्वका सबै देशहरूले अलिकति संयमता अपनाइ, सजग हुँदै नियन्त्रणको प्रयास गरेका भए सायद आज यो अवस्था आउने थिएन । आज जति पनि यो भाइरसले भयानक रूप लिइरहेको छ । कोरोना फैलिएका देशहरूकै आफ्नै लापरबाही र दम्भका कारण आज यो अवस्था आएको हो । सुरुमै जतिसक्दो नियन्त्रणको प्रयास गरेको भए यस्तो भयावह अवस्था आउने थिएन । अझै पनि कोरोना सङ्क्रमित देशहरूले संयमता अपनाइ रोकथामको उपाय भन्दा अर्को विकल्प छैन । विश्व स्वास्थ्य सङ्गठनका मापदण्ड अपनाउँदै रोकथाम तथा नियन्त्रणको प्रयास गर्नु नै कोरोना रोकथामको अन्तिम विकल्प देखिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार