युभेन्टस भित्रिदै लुइस स्वरेज !

२०७७ भाद्र १७ बुधबार, एजेन्सी । बार्सिलोनाका उरुग्वेका स्टार खेलाडी लुइस स्वरेज इटालियन च्याम्पियन युभेन्टस भित्रिने तयारी गरेका छन् । युभेन्टस र स्वरेजका प्रतिनिधिबीचको दोस्रो छलफलमा स्वरेज युभेन्टस जाने तय भएको इटालियन मिडियाहरुले उल्लेख गरेका छन् ।

ला गजेटाका अनुसार छलफल सकारत्मक भएको र स्वरेजले युभेन्टस जाने सबै सर्त मन्जुर गरेको उल्लेख गरेको छ । युभेन्टसले स्वरेजलाई युभेन्टसले गोन्जालो हुगैनको ठाउमा लैजान लागेको मिडिया रिपोर्टमा उल्लेख छ । बार्सिलोनामा नयाँ म्यानेजर रोनाल्ड कोम्यान आएपछि स्वरेजलाई बार्सिलोनाको आउदो सिजनको टिममा समावेश नगर्ने स्पष्ट गरेका थिए ।

स्वरेजको बार्सिलोनासँग एक बर्षको सम्झौता बाँकी रहेको छ भने स्वरेजले अहिले बार्सिलोना छोडेमा बार्सिलोनाले सम्झौता अनुसार १७ मिलियन डलर स्वरेजलाई दिनुपर्ने भएको मिडिया रिपोर्टमा उल्लेख छ । सम्झौता तोडेमा सो रकम दिने सम्झौतामा उल्लेख रहेको छ ।

सो रिपोर्टपछि स्वरेजलाई विभिन्न क्लबहरुले अफर गरिरहेका छन् । स्वरेजलाई प्रिमियर लिग क्लबहरुका साथै नेदरल्याण्डसको आयाक्सले समेत अफर गरिसकेको छ ।

३३ बर्षिय स्वरेजले बार्सिलोना छोड्ने निश्चित भएपछि युभेन्टसका नयाँ म्यानेजर आन्द्रे पिरलोले हुगैनको ठाउमा स्वरेजलाई भित्राउन प्रयास शुरु गरेको हुन् । स्वरेजले यसअघि इटालियन सिरी ए मा खेलेका छैनन् ।

२०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोना आएका स्वरेजले अहिलेसम्म बार्सिलोनाका लागि २८३ खेल खेल्दै १९८ गोल गरेका छन् भने यस सिजनमा कुल ३६ खेल खेल्दै २१ गोल गरेका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार