कोरोना अपडेट: विश्वभरी साढे आठ लाखको मृत्यु, नेपालमा साढे ४० हजार संक्रमित

२०७७ भाद्र १७ बुधबार, काठमाडौं । महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण अहिलेसम्म विश्वका २१५ ओटा देशमा पुगेको छ। सन् २०१९ को डिसेम्बरको अन्त्यतिर पहिलो पटक कोभिड–१९ को संक्रमण चीनको उहान सहरमा देखिएको थियो । डिसेम्बर र जनवरीसम्म चीनमा मात्रै रहेको कोभिड–१९ फेब्रुअरीदेखि अन्य देशहरुमा पनि देखिन थालेको हो ।

चीनपछि फिलिपिन्स, जापान, इरान, इटली, दक्षिण कोरिया, फ्रान्स हुदै फैलिएकोकोभिड–१९का कारण अहिलेसम्म संसारभरी दुई करोड ५८ लाख ९९ हजार ६९३ जना संक्रमित भएका छन् । ती मध्ये अहिलेसम्म संसारभरी आठ लाख ६१ हजार २३२ जनाको कोभिड–१९ कै कारणले मृत्यु भएको छ ।

मृत्यु भएका र सङ्क्रमित भएकाहरु मध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् भने दोस्रो धेरै ब्राजिलमा र तेस्रो धेरै भारतमा रहेका छन् । चीन भने अहिले संक्रमितहरुको संख्याका आधारमा ३८ औँ स्थानमा रहेको छ।

चीनको छिमेकी मुलुक नेपालमा कोभिड–१९को पहिलो सङ्क्रमित माघ १० मा पुष्टि भएको हो । चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो ।

त्यसको केहीदिनपछि शुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा अहिलेसम्म नेपालमा ४० हजार ५२९ जना कोभिड–१९ को संक्रमण देखिएको छ ।

डा गौतमका अनुसार अहिलेसम्म कुल संक्रमित मध्ये५५ प्रतिशत अर्थात २२ हजार १७८ जना संक्रमण निको भएर घर फर्किएका छन् । उहाँले मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देही गरी १२ जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेको जानकारी दिनुभयो ।

संस्थागत आइसोलेसनमा १० हजार ८३२ जना र होम आइसोसनमा सात हजार २८० जना छन । यस्तै सक्रिय संक्रमित १८ हजार ११२ जना र क्वारेन्टिनमा सात हजार ३९० जना रहेको उहाँले बताउनुभयो । नेपालमा कोभिड–१९ को कारणले०.५९ प्रतिशतको मृत्यु भएको छ ।

यो संक्रमण फैलाउने जिवाणुलाई कोरोनाभाइरस भन्ने गरिएको छ भने संक्रमित भएपछिको अवस्थालाई कोभिड–१९ भन्ने गरिएको छ । विश्वभरी फैलिएर सवैलाई प्रभावित पारेको यस्तो संक्रमणको अहिलेसम्म पनि औषधी प्रमाणीकरण हुन सकेको छैन् । कतिपय बैज्ञानिकहरुले औषधी बनाइएको दावी गरेपनि ती सवै अहिले परीक्षणकै चरणमा रहेका छन् ।

अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार हाल विश्वमा १२५ वटा कोरोनाभाइरसको खोपबारे अनुसन्धान भइरहेको छ जसमध्ये ३६ वटा मानवमा परीक्षण भइरहेका छन् ।

अघिल्लो साताको अन्त्यसम्म नौ खोपको तेश्रो चरण अन्तर्गत ठूलो सङ्ख्यामा मानिसमा परीक्षण भइरहेका उक्त अखबारले जनाएको छ। कोरोनाभाइरससम्बन्धी खोपको नेपालमा गर्ने भनिएको तेश्रो चरणको परीक्षण तत्कालै नहुने अधिकारीहरूले बताएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार