अस्ट्रेलियामा तीन दशकपछि पहिलो पटक आर्थिक मन्दी

२०७७ भाद्र १७ बुधबार, एजेन्सी । कोरोना भाइरसले अस्ट्रेलियाको तीन दशक लामो आर्थिक वृद्धिलाई रोक लगाएको छ । तथायंक अनुसार, यस वर्षको दोश्रो त्रैमासिकमा अस्ट्रेलिया को अर्थव्यवस्थामा सात प्रतिशतको गिरावट दर्ता भएको छ ।

यस भन्दा पहिलाको त्रैमासिकमा शुन्य दशमलब तीन प्रतिशतको गिरावट भएको थियो । अस्ट्रेलियाको अर्थव्यवस्थामा सन् १९५९ पछि सबै भन्दा ठुलो गिरावट भएको छ । लगातार दुई त्रैमासिकमा अर्थव्यवस्था संकुचन आएको कारण मन्दी छाएको छ ।

सन् २००८ को आर्थिक मन्दीबाट बच्ने एक मात्र राष्ट्र अस्ट्रेलिया थियो । यसको कारण मुख्यरुपमा चीनमा अस्ट्रेलियाको प्राकृतिक श्रोतको मागले गर्दा अर्थतन्त्र चलेको थियो । यस वर्षको शुरुवातमा वनजंगलमा लागेको आगो र कोरोना भाइरसको शुरुवातको प्रभावको कारण अस्ट्रेलियाको अर्थव्यवस्थामा नोक्सानी भएको थियो ।

त्यस पछि लकडाउनको कारण पुरै देशमा व्यापार ठप्प भयो र अर्थतन्त्रको अवस्था कम्जोर बन्दै गयो । अस्ट्रेलियामा पछिल्लो पटक सन् १९९० मा आर्थिक मन्दी छाएको थियो र उक्त मन्दी सन् १९९१ सम्म चलेको थियो  ।

दोश्रो त्रैमासिकमा उपभोक्ता खर्चमा १२ प्रतिशत गिरावट आएको छ भने, सेवा-सुविधामा १८ प्रतिशत कमि आएको छ । सबै होटेल तथा रेष्टुरेन्ट बन्द भएका छन् भने सेवा सुविधा व्यापारमा पनि कमी आएको छ । सरकार र केन्द्रिय बैंकको योजनाले खासै केही प्रभाव परेको छैन ।

अस्ट्रेलियन पर्यटन तथा निर्यात विभागको अनुसार, महामारीको कारण उपभोक्ता खर्च कम भएको र पर्यटनमा नकारात्मक प्रभाव परेको छ जसको कारण पछिल्लो ६१ वर्षको आर्थिक वृद्धि ठप्प भएको छ । महामारीले विश्वका ठुला अर्थतन्त्र पनि प्रभावित भएका छन् ।

सन् २०२० को मध्य सम्म विकसित मुलुकहरु, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, वेलायत तथा अमेरिकाको अर्थतन्त्रमा ठुलो गिरावट दर्ता भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार