खुकुलाे निषेधाज्ञाः उपत्यका नगरपालिका फोरम असन्तुष्ट, कडाइ गर्न प्रशासनसँग माग

२०७७ भाद्र १८ बिहीबार, काठमाडौं । निषेधाज्ञा खुकुलाे बनाएकाे भन्दै उपत्यकाका नगरपालिका फाेरम प्रशासनसँग असन्तुष्ट बनेकाे छ ।

बुधबार साँझ उपत्यकाका तीन जिल्लाका प्रजिअहरूले छलफलपछि तेस्राे पटक थपिएकाे निषेधाज्ञा खुकुलाे बनाउने निर्णय गरेका थिए । साेही निर्णयप्रति विज्ञप्ति नै जारी गर्दै फाेरमले आपत्ति जनाएको हो । निषेधाज्ञा कडा गर्नुपर्ने उसकाे ठहर छ ।

विज्ञप्तिमा भनिएकाे छ, ‘काठमाडाैं उपत्यकामा काेभिड १९ काे संक्रमण तथा मृत्युदर समेत तीव्र रूपमा बढीरहेकाे सन्दर्भमा उपत्यकालालाई भयावह स्थितिबाट जोगाउन कडा रूपमा निषेधाज्ञा आवश्यक रहेकाे उपत्यका नगरपालिका फाेरम, काठमाडाैंकाे ठहर छ । यहि भदौ १८ गतेदेखि लागु हुनेगरी थपिएको निषेधाज्ञामा दिउँसो दुई बजेदेखि साँझ ९ बजेसम्म विकास निर्माणका पसल–व्यवसाय सञ्चालन गर्न सकिने…बुँदामा गम्भीर ध्यानाकर्षण भएको छ ।’

खुकुलाे बनाएकाे अवस्थामा निषेधाज्ञाकाे कुनै अर्थ नरहने पनि विज्ञप्तिमा उल्लेख छ । याे परिस्थितमा भदाै २४ गतेसम्म स्थानीय तहका सेवा प्रवाह बन्द रहने समेत जनाइएकाे छ । ‘वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखी उपत्यकाका स्थानीय तहबाट प्रवाह गरिँदै आएका अत्यावश्यक बाहेकका सेवा–प्रवाह भदौ २४ सम्म बन्द रहने पनि यसै विज्ञप्तिमार्फत् जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ ।

ध्यानाकर्षण गरिएकाे बुँदामा के छ त ? उपत्यकाभित्र विकास निर्माणसँग सम्बन्धित पसल–व्यवसाय साथै सोको ढुवानीका लागि प्रयोग गर्ने सवारी साधन दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिने तर, नेपाल सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ।

हेर्नुहाेस् विज्ञप्तिः

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार