राष्ट्रसंघ भन्छ- कोरोनाले चार करोड ७० लाख महिलालाई अति गरिबीतर्फ धकेल्छ

२०७७ भाद्र १८ बिहीबार, एजेन्सी । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आगामी वर्ष चार करोड सात लाख महिला अति गरिबीतर्फ धकेलिने अनुमान गरिएको छ ।

संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक विवरणमा सन् २०२१ मा यस्तो असर देखिने उल्लेख गरिएको छ । कोरोना भाइरसको महामारीले पुरुष र महिलाबीचको खाडललाई पनि नाटकीय हिसाबले वृद्धि गर्ने देखिएको प्रतिवेदनमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघको युएन वुमन र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले महिलाहरुको गरिबीको अवस्था अत्यधिक बढ्ने चिन्ता व्यक्त गरेको छ । सन् २०१९ देखि सन् २०२१ सम्ममा महिलाहरुको गरिबी वृद्धिदर २.७ प्रतिशतसम्म हुने अनुमानहरु गरिएको छ ।

राष्ट्रसंघीय निकायहरुले कोरोना भाइरसले उत्पन्न गरेको महामारीबाट नौ करोड ६० लाख मानिस गरिबीको रेखामुनि पर्ने प्रक्षेपण गरेका छन् । तीमध्ये महिलाको संख्या चार करोड ७० लाख हुने अनुमान गरिएको हो ।

सर्वेक्षणकर्ता तथा अध्ययनकर्ताहरुले सन् २०३० सम्ममा मात्रै कारोना भाइरसको सङ्क्रमण शुरु हुनुभन्दा अगाडिको अवस्थामा पुग्न सकिने विश्लेषण गरेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार