सुशान्त मृत्यु प्रकरणमा दुई जना गिरफ्तार

२०७७ भाद्र २० शनिबार, एजेन्सी । बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको छानबिनको क्रममा उनकी प्रेमिका रिया चक्रवर्तीका भाई शौविक चक्रवर्ती र सुशान्तका पूर्व म्यानेजर साम्युल मिरांडालाई गिरफ्तार गरिएको छ ।

दुवैलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरोले गिरफ्तार गरेको पिटीआइले जनाएको छ । सुशान्तको आत्महत्या प्रकरणमा छानबिन गरिरहेको सिबिआईले अनुसन्धानको क्रममा सुशान्तको मृत्यु ड्रग्ससँग सम्बन्धित रहेको देखिन आएपछि नार्कोटिक्स ब्युरो अहिले अनुसन्धानमा जुटेको छ ।

सुशान्तको मृत्यु प्रकरणमा यो पहिलो गिरफ्तारी हो । अनुसन्धानको क्रममा ड्रग्स लेनदेनको विषय अगाडी आएपछि अहिले अनुसन्धान ड्रग्सको विषयमा केन्द्रित भएको छ । यस क्रममा ड्रग्ससँग जोडिएका केहि व्यक्तिहरुसँग यस अघि बयान समेत लिइएको थियो । ब्युरोको टिमले शुक्रबार नै शौबिक र साम्युलको घरमा छापा मारेको थियो भने गएराती दुवैलाई हिरासतमा समेत लिएको छ ।

गत जुन १४ मा आफ्नै घरमा मृत फेला परेका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको नभई हत्या भएको भन्ने आम जनता र परिवारको दाबि पछि अहिले यस विषयको अनुसन्धान सिबिआइले गरिरहेको छ । यस क्रममा सुशान्तसँग जोडिएका एक दर्जन भन्दा बढीको बयान समेत लिइएको छ । घटनालाई राजनीतिक रंग दिन थालिएपछि यस प्रकरणलाई सिबिआइको जिम्मा दिइएको हो ।

सिबिआइले समेत अहिले सुशान्तको मृत्युको प्रकरण बारे ठोस धारणा बनाउन नसकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार