आमा तिमी टाठी भएकी भए

                                                           – राधिका आचार्य

अस्तिव्व हराएको यो शहरमा,
आज म
भेडा चराउँदैछु, म भन्दा ग्वाँदे
ती बिर्खे र साइँली, जाँच्दैछन् तिमीलाई
नाप्दैछन् ज्वरो हात कपाएर
तिमी सोझी भएकाले नै आज
मेरो सकेन्ड डिभिजनले मलाई लखेटो
आफ्नो बस्तीबाट, फष्ट डिभिजनको लागि त म
योग्य नै थिइँन होला
थर्ड डिभिजनमा पनि झरिनँ म
बाको गोर्खे लौरी बज्रिने डरले
तर आज म सँग त्यही थर्ड डिभिजन भए
साईँली, माईलीले झुकेर हात जोड्नेथे
ती बिर्खेहरुको सरुवा गर्दिन्थेँ म
आमा तिमी कस्ती लाटी !
ती जिजुबाजेहरुको गैरी खेत बेचेर भएपनि
मेरो लागि फष्ट डिभिजनको सटिफिकेट
खरिद गरीदिएकी भए,
म त्यसलाई सुम्सुम्याउँदै आफ्नो भाग्य रेखा कोर्नेथेँ
आज आफ्नै छोरीले तिम्रो खकार जाँच्थी,
तिम्रो ओछ्यानको सिरानीमा बसेर
डाक्टरकी आमा भनेर सम्बाेधन गर्थे
हिजोसम्म खैरो खन्नेि गाउँलेहरुले
तिम्रो लामो नाक झन् लामो हुने थियो
त्यो समय
आमा, तिमी टाठी भएकी भए !
बिर्खे, साईलीको जस्तै सटिफिकेट
आफ्नो गलाको सौभाग्य बेचेर भएपनि
ल्याईदिएकी भए
यो मरुभुमीमा बाख्राका पछि पछि
महला बोकेर, बड्कुँला थाप्दै
दौडिनु पर्दैन थियो होला
मदानी, कँचियामै जीवन विताएकी तिमीले
कँचिया जस्तै बाङ्गो र
मदानी जस्तै बलवान भएकी भए
आज म तिमीलाई नैनी बनाउन सघाईरहेकी हुन्थेँहोला
तिमी सँगै बस्तीमा
केटाकेटी सँग दौंतेरी, गाँसीरहेकी हुन्थें होला
तिम्रो थप्पडको तोड सँगै रुँदै भकारो ओसारेर
रातभरी क, ख, ग, घ घोकेकी मैले
विवशताको घुम्टी ओडेर विरानो देशमा
तिम्रा वास्तविकताका पँहेलीहरुलाई
चिथोरेर जिउँदिन थिएँ होला
हो, तिमी
सृष्टीकर्ता अनि सत्यवादी हौ
भुलेकी छैनौ आफु हिंड्ने गोरटो
तर आज, समयको दुष्चक्रले, तिमी जस्ता
सोझाहरुलाई सोझ्याउँदै गएको छ
त्यो समय म पनि सानै थिएँ
मेरो बुद्धी पनि छोटै हुनुपर्छ
या त तिम्रो स्वाभिमानको पाठले
मेरो घाँटी र पाखुरी निचोरेको हुनुपर्छ
त्यही भएर त म
सटिफिकेट खरिद गर्न नदौडिएको हुन सक्छु,
आज तिम्रो सिधा ह्दयले
तिम्रो भविश्य त निमोठिदियो, दियो !
तर तिम्रो त्यो सोझोपनको कदमले
मेरो भविश्यि पनि स्वाहा पार्दैछ
तिमीले यो सुन्दर देशका
बाठा लठेप्राहरुको संगत नगर्नाले
म हराईरहेकी छु आफैं भित्र
बस, त्यती सटिफिकेट खरिद गरेर
ल्याईदिएकी भए, तिम्रो शिर, सान चम्किलो पार्न सक्थें
ऐया, ऐया भन्दा उल्टो सुल्टो
दबाई खुवाउन सक्थें
आमा, तिमी टाठी भईदिएकी भए !
तर, आज अचानक एक अखवारको पानाले
यो मनको तुवाँलो भित्रको पर्दा
उघारिदिएको छ
घरिघरि तर्सिएर छट्पटाईरहेको छ,मष्तिष्क
वास्तविकताको पोखरीमा डुबेर
सोचिरहेको छ आत्माले
भन्न त मन लागेको छ
कुकृत्यको फल
आमा तिमीले भनेझै
एकदिन मिल्दोरहेछ,
तिम्रो लाटोपनले नै आज मलाई
मुस्कान् सहित बाँच्ने अवसर दिएको छ
साँच्चिकै, तिम्रो त्यो सत्यताको पाठले
मैले भौतारिनु परेन अस्तित्वहीन मार्ग तिरै !
धन्य आमा, तिमिले कहिल्यै खोजिनौ
मेरा लागि,
खरिद गरेर पाईने सटिफिकेटहरु
आज तिम्रो सुन्दर सोच र विचारहरुको संस्कार
पाएर त म ;
पसिनाले रुपैयाँ खरिद गरीरहेकी छु
सही रहेकी छु यो तातो हावा
तर आफ्नो नैतिकता बेचेकी छैन !
हो आमा,
तिमीप्रतिको दृष्टिकोण बदलिएको छ
तिम्रो लाटोपन नै रोजेकी छु मैले
भन्न त मन लागेको छ,
नबदलिनु है आमा, कहिल्यै पनि !
अब कहिल्यै भन्ने छैन, म तिमीलाई !
आमा, तिमी टाठी भईदिएकी भए !

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार