भारत र चीनबीच सहमति, सीमामा जारी तनाव कम हुने

२०७७ भाद्र २६, शुक्रबार, एजेन्सी । भारत र चीनबीच ५ बुँदे सहमति भएको छ। लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (एलएसी) मा जारी तनाव कम गर्नका लागि भारत र चीनबीच ५ बुँदे सहमति भएको छ।

भारतीय विदेशमन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यीबीच बिहीबार मस्कोमा भएको भेटमा यस्तो सहमति भएको हो। मस्कोमा आयोजित संघाई कोअपरेशन अर्गनाइजेशनका सदस्य मुलुकका विदेशमन्त्रीहरुको बैठकका क्रममा दुवै विदेशमन्त्रीबीच भेट भएको हो।

समाचार संस्था एएनआईका अनुसार दुवै देशका विदेशमन्त्रीको बैठक सकिएपछि चिनियाँ विदेश मन्त्रायलले सीमा विवाद समाधान गर्ने सहमति भएको जानकारी दिएको हो।

उक्त भेटमा भारतीय विदेशमन्त्री जयशंकरले आफ्नो मुलुक एलएसीमा थप तनाव बढाउने पक्षमा नरहेको उल्लेख गर्दै भारतको चीननीतिमा कुनै परिवर्तन नआएको जनाएका थिए। चिनियाँ विदेशमन्त्री वाङले पनि दुवै पक्ष सम्बन्ध सुधारको दिशामा अघि बढ्ने क्रममा कुनै पनि समस्या र चुनौती नआउने बताएका छन्।

भारत र चीनबीच मन्त्रीस्तरीय बैठक जारी रहेका बेला एलएसीमा पनि सैन्यस्तरमा वार्ता चलिरहेको जनाइएको छ। बिहीबार पनि दुवै सेनाबीच बिग्रेडियरस्तरमा वार्ता भएको थियो।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार