कसरी पन्छियो नेकपा विभाजनको पहिरो?

२०७७ भाद्र २६, शुक्रबार, काठमाडौं । केपी शर्मा ओलीलाई सके पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने नभए एक पदबाट त जसरी पनि हटाएरै छाड्ने भन्दै पाखुरा सुर्केर अघि बढेका ओली इतर समूहका नेताहरु अन्ततः पछि हट्न बाध्य भएका छन्।

अब केपी ओलीले पाँचै वर्ष सरकारको नेतृत्व गर्ने र पार्टी अध्यक्ष पदमा पनि कायमै रहने विषयमा पार्टीको स्थायी कमिटि बैठकले सहमति जुटाएको छ। तर यो सहमति जुट्नुका पछाडि नेताहरुको पद र शक्ति बाँडफाँडको स्वार्थले गतिलो स्थान पाएको छ।

आज सकिएको नेकपाको स्थायी कमिटि बैठकले एक अध्यक्ष केपी शर्मा ओलीले सरकार र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो।

प्रवक्ता श्रेष्ठका अनुसार अब सरकारको दैनिक कार्यमा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत विषयमा पार्टीमा परामर्श गरेर मात्र निर्णय लिइने सहमति भएको छ।

आज ७१ दिनपछि सुचारु भएको पार्टीको स्थायी कमिटि बैठकको सुरुमै प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुको नेकपा फुटाउने प्रयास असफल पार्न आफू सफल भएको बताउनुभएको थियो।

उहाँले आजको बैठकसँगै नेकपा टुटफुट हुने सबै सम्भावनाहरु समाप्त भएका बताउनुएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई दुर्घटनाबाट बचाउन सक्षम भइएको बताउनुभयो।

उहाँले पार्टीलाई सांगठनीक रुपमा पनि अझ बढी मजबुत र रुपान्तरणका लागि आधार प्रदान गर्न आजको बैठक सफल भएको बताउनुभएको थियो। उहाँले बैठकमा भएका विभिन्न प्रकारका उतारचढाव र छलफलबाट शिक्षा लिनुपर्ने बताउनुभयो।

आगामी दिनमा पार्टी एकताको उद्देश्यलाई पूरा गर्नेगरी पार्टी संगठनलाई अझ बढी सुदृढ गर्दै बहसको प्रक्रियालाई उन्नत ढंगले अगाडि बढाएर महाधिवेशनलाई सफल बनाउन आव्हान प्रचण्डले गर्नुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।

हुन त यसअघि पनि गत मंसिर ४ गते प्रचण्डलाई कार्यकारी अधिकारसहितको भूमिका दिइएकोे भनिएको थियो। तर उक्त सहमति भएलगत्तै एक अन्तर्वार्तामा ओलीले पार्टीको सिनियर अध्यक्ष आफू नै रहेको दाबी गर्नुभएको थियो।

त्यतिमात्रै होइन सत्ता र पार्टी सञ्चालनमा समेत ओलीले मनलाग्दी गरेपछि प्रचण्डले सार्वजनिक रुपमै पार्टीमा गम्भीर समस्या रहेको अभिव्यक्ति दिँदै आउनुभएको थियो।

तर आजको बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका दिने सहमतिले भविष्यमा फेरि पनि विवाद ननिम्तेला भन्नेमा विस्वस्त रहने ठाउँ नरहेको राजनीतिक विश्लेषक लोकराज बराल बताउनुहुन्छ। फेरि पनि पार्टीमा प्रचण्ड भन्दा शक्तिशाली भूमिका ओलीकै रहने उहाँले दाबी गर्नुभयो।

1599796937oli-prachanda.jpg

नेपालको नयाँ नक्सा प्रकाशन गरेसँगै भारतसँग मिलेर नेपालका नेताहरु आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागि परेको ओलीको अभिव्यक्तिसँगै नेकपा विवाद उत्कर्षमा पुगेको थियो।

ओलीको यस्तो अभिव्यक्तिपछि प्रचण्डले तपाईँको राजीनामा भारतले हैन मैले मागेको हो भन्दै बैठकमै ओलीले राजीनामा दिए मात्रै निकास निस्कने अडान लिनुभएको थियो। त्यसपछि एक व्यक्ति एक पदको विषय पनि महत्वका साथ पार्टीमा उठेको थियो।

तर एक व्यक्ति एक पदको अडान लिँदै आएको माधव कुमार नेपाल समूहले पनि पछिल्लो पटक यो मुद्दालाई ओझेलमा पारेको छ। नेता भीम रावलले त्यसबारे आगामी बैठकहरुमा छलफल गरेर निकास निकालिने प्रतिक्रिया दिनुभयो।

केपी ओलीको राजीनामाको विषयलाई लिएर पार्टी विभाजनको डिलबाट गुज्रिरहेका बेला महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले ओलीले दुवै पदबाट राजीनामा दिन नपर्ने गरी प्रतिवेदन तयार पारेको थियो।

सोही प्रतिवेदनका आधारमा अध्यक्षद्वयले पेश गरेको प्रस्ताव आजको स्थायी कमिटि बैठकबाट पारित भयो । नेकपा उच्च श्रोतका अनुसार उक्त कार्यदलमा रहेका सबै नेताहरुलाई मन्त्रीसहितका महत्वपूर्ण पदको जिम्मेवारी दिन लागिएको छ।

कोरोना कहरका बेला जनताका जिउधनको रक्षामा लाग्नुभन्दा पद र सत्ताको लडाईमा आफ्नै पार्टीभित्र रडाको मच्याएर नेकपाका नेताहरुले जनताप्रतिको उत्तरदायीत्वमा भने लात मारेका छन्।

-चिरनजिवी पण्डित

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार