एकदिवसीय खेलमा इङल्याण्डमाथि अस्ट्रेलियाको जित

२०७७ भाद्र २७ शनिबार, एजेन्सी । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा विजयी सुरुवात गरेको छ । गएराती सम्पन्न पहिलो एकदिवसीय खेलमा अस्ट्रेलिया १९ रनले विजयी भएको छ ।

अस्ट्रेलियाले दिएको २९५ रनको लक्ष्य पछाएको घरेलु टिम इङल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २७५ रन मात्र बनाएपछि खेल १९ रनले हारेको हो ।

इङल्याण्डका लागि साम ब्लिंग्सले सतकीय पारी खेले पनि टिमलाई जिताउन असफल भएका थिए । उनले ११८ रन बनाएका थिए । त्यस्तै जोनी बैरस्ट्रवले ८४ रन बनाएका थिए । त्यस्तै कप्तान इयोन मोर्गनले २३ तथा क्रिस वोक्सले १० रन बनए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अस्ट्रेलियाका बलर एडम जाम्पाले ४ विकेट लिए भने जोस हजेलवूडले ३ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले खराब सुरुवात गरेपनि अन्तमा राम्रो अल्क्ष्य दिन सफल भएको थियो । अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाउदै २९४ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ७७ रन बनाए भने शन मार्शले ७३ रन बनाएका थिए । त्यस्तै मार्कोस स्टोइनिसले ४३, मार्नस लाबुसचाँगेले २१, मिचेल स्टार्कले १९  तथा कप्तान एरोन फिंचले १६ रन बनाएका थिए ।

इङल्याण्डका बलर जोफ्रा आर्चर र मार्क वूडले ३-३ विकेट लिए भने आदील राशिदले २ विकेट लिएका थिए । खेलमा १० ओभरमा ३ मेडनसहित २६ रन दिएर ३ विकेट लिएका अस्ट्रेलियाका बलर जोस हजेलवूडलाई प्लेयर अफ द म्याच अवार्ड दिइएको थियो ।

यो जितपछि अस्ट्रेलिया ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल आइतबार खेलिदै छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार