भूमि फिर्ता ल्याउन तीन तथ्य: नारायणकाजी श्रेष्ठ

    २०७७ असार ४ बिहीबार, काठमाडौं । राष्ट्रियसभा सदस्य नेपाल कम्युनिष्ट पार्टीका  नारायणकाजी श्रेष्ठले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भन्ने तीन तथ्य नै काफी रहेको बताएका छन्।

अद्यावधिक नक्सा निशान छापमा राख्न संविधान संशोधन गर्ने विधेयकमाथि राष्ट्रियसभामा बिहीबार धारणा राख्दै श्रेष्ठले ऐतिहासिक तथ्यका आधारमा भूमि नेपालकै हो भन्ने प्रष्ट हुने बताए । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो भन्ने तीन तथ्य नै काफी छ,’ श्रेष्ठले भने।

उनका अनुसार पहिलो तथ्य १८१६ को सुगौली सन्धिमा कालीनदी पश्चिमको भू-भाग भारतको रहेको उल्लेख छ। त्यसले काली पूर्व नेपाल भन्ने प्रष्ट देखियो । दोस्रो बुँदामा श्रेष्ठले नोभेम्बर २०१९ मा भारतले जारी गरेको राजनीतिक नक्सामा कालीनदी लिपुलेक नजिकको सानो खोल्सोलाई देखाएको र एक सातापछि उक्त कालीनदी नक्साबाट हटाएको प्रष्ट गरे । ‘कालीनदी लिम्पियाधुराको हो, कालापानी नजिकको खोल्सो होइन।भारतले सात दिनपछि नक्सामा काली किन काट्यो? यसले प्रष्ट गर्छ जतिसुकै यताउता गरे पनि काली पूर्वको भाग नेपालको हो,’ उनले भने । यस्तै, तेस्रो बुँदामा उनले सुगौली सन्धिपछि कुनै पनि शासकले भारतलाई सन्धि या सम्झौता गरेर भूमि नदिएकोले सुगौली सन्धिमै उल्लेख भएअनुसार कालीनदी पूर्व-नेपाली भूमि भन्ने प्रष्ट हुने उनले बताए।

उनले संवादबाटै सीमा समस्या हल गर्न नेपालले चाहेको बताए । कालापानीलगायत ठाउँबाट भारतीय सेना फिर्ता हुनुपर्ने श्रेष्ठको भनाइ छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार