बामदेव राष्ट्रियसभामा छिरेपछि उनलाई चुनाव हराउने कांग्रेस सांसद गौतमले के भने?

२०७७ आश्विन १ बिहीबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको गणित मिलाउन अन्ततः बर्दियाबाट प्रतिनिधिसभाको चुनाव हारेका बामदेव गौतमले पनि राष्ट्रियसभा सदस्यको शपथ लिनुभएको छ ।

यसअघि गोरखाबाट चुनाव हारेका नारायणकाजी श्रेष्ठलाई पनि सत्तारुढ नेकपाले आन्तरिक गणितीय खेल मिलाउन राष्ट्रियसभा सदस्य बनाएको थियो । नेकपाका उपाध्यक्ष बामदेव गौतमले आज आफैले पार्टी सदस्यता वितरण गरेका राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग पद तथा गोपनीयताको शपथ लिनुभयो । शपथ पछि बोल्दै गौतमले आफू राष्ट्रियसभाको गरिमा बढाउन आएको बताउनुभयो ।

पार्टीको समाजवादमा जाने संकल्प पूरा गर्न आफू राष्ट्रियसभामा आएको बताउँदै गौतमले यसबाहेक आफ्नो कुनै स्वार्थ नरहेको बताउनुभयो । धेरैले उपप्रधानसहित अर्थमन्त्री बन्न बामदेव राष्ट्रियसभामा गएको दाबी गरिरहँदा गौतमले भने आफू संविधान बमोजिम राष्ट्रियसभामा आएकोले यसबाहेक कुनै चाहना र स्वार्थ नरहेको बताउनुभयो ।

तर मन्त्रिपरिषदमा जानका लागि नै बामदेवलाई राष्ट्रियसभामा लैजान लागिएको तथ्य गौतम सचिवालयले यसअघि नै सार्वजनिक गरिसकेको छ । गत भदौ २७ गते गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले पार्टी निर्माण गरेको व्यक्तिलाई कुनै कालखण्डमा देशको नेतृत्वमा रहने चाहना व्यक्त हुनु स्वभाविक रहेको बताउनुभएको थियो ।

नेता गौतमले पनि राष्ट्रको आवश्यकता बमोजिम आफूले जिम्मेबारी पाउने विभिन्न अन्तर्वार्तामा बताउनुभएको छ । प्रेस सहयोगी सुवेदीले राष्ट्रियसभा सदस्य बनिसकेपछि नेता गौतमलाई मन्त्री बन्न संविधानले नरोक्ने जिकिर गर्नुभयो ।

राष्ट्रियसभा सदस्य बनिसकेको व्यक्तिलाई मन्त्री बन्न संविधान बाधक नरहेको गौतम सचिवालयको दाबीले पनि उहाँलाई मन्त्री बनाउने कसरत पार्टीमा भएको कुरामा बल पुगाउँछ । तर गौतमले राष्ट्रियसभा सदस्यको शपथ लिएकै दिन नेकपाका एक प्रभावशाली नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभामा हारेको व्यक्तिलाई मन्त्री बनाउन संविधानले नदिने बताउनुभएको छ ।

विगतमा अस्थिरताका कारक मानिने यस्ता घटनामा रोक लगाउने व्यवस्था संविधानमा उल्लेख रहेको नेता नेम्वाङले बताउनुभयो । उहाँले बामदेव गौतमलाई मन्त्री बनाउने सम्बन्धमा पनि संविधान बाधक रहेको कुरा पार्टीका दुवै अध्यक्षलाई अगवत गराइसकेको बताउनुभयो ।

२०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा बामदेव गौतम बर्दिया १ मा कांग्रेस उम्मेदबार सञ्जय गौतमसँग पराजित हुनुभएको थियो । आफूसँग चुनाव हारेका नेता गौतमलाई राष्ट्रियसभामा प्रवेश दिइएको घटनाले जनमतको अपमान गरेको कांग्रेस सांसद गौतमले बताउनुभयो । उहाँले राष्ट्रिय नेताका रुपमा गौतमलाई उहाँको पार्टीले जिम्मेबारी दिए पनि त्यसले राष्ट्रिय राजनीति र संसदीय प्रणालीमा सकारात्मक योगदान नदिने प्रतिक्रिया दिनुभयो ।

प्रतिनिधिसभामा चुनाव हारेको व्यक्ति मन्त्री बन्न पाउने कि नपाउने भन्नेमा नेपालका संविधानविदहरु नै विभाजित छन् । एकथरीले प्रतिनिधिसभामा चुनाव हारेको व्यक्ति मन्त्री बन्न संविधानले नदिने बताइरहेका छन् भने अर्काेथरीले राष्ट्रियसभा सदस्य भइसकेपछि प्रतिनिधिसभामा चुनाव हारेको कुराले कुनै सरोकार नराख्ने दाबी गरेका छन् ।

यसबारे बहस र टिकाटिप्पणीहरु भइनै रहेका बेला गौतमबारे अब के होला भन्ने विषय मुलुकले चासोका साथ हेरिरहेको छ । तर, नेकपाका उपाध्यक्ष गौतमले राष्ट्रियसभा सदस्यको शपथ लिएकै दिन प्रधानमन्त्रीको अत्यन्तै निकट मानिने नेता नेम्वाङले चुनाव हारेको व्यक्तिलाई मन्त्री बनाउन संविधानले नदिने अभिव्यक्ति दिनुलाई राजनीतिक रुपमा अर्थपूर्ण ढंगले हेरिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार