पाकिस्तानमा कोरोना संक्रमित संख्या एक लाख ६० हजार नाघ्यो

२०७७ असार ५ शुक्रबार,एजेन्सी । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाकिस्तानमा एक लाख ६० हजार नाघेको छ। मृत्यु भएकाहरुको संख्या तीन हजारभन्दा बढी भएको छ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार कुल संक्रमित मध्ये ५९ हजार २१५ जना संक्रमणमुक्त भएका छन् । पाकिस्तानमा अहिलेसम्म कुल नौ लाख ८२ हजार १२ जनाको कोरोना परीक्षण गरिसकिएको छ। ती मध्य ३१ हजार ५०० जनाको पछिल्लो २४ घण्टामा परीक्षण गरिएको हो।

स्वास्थ्य अधिकारीहरूले पाकिस्तानमा अहिलेसम्म कुल संक्रमितको संख्या एक लाख ६० हजार ११८ रहेको जनाएका छन्। त्यसैगरी कोरोनाभाइरसबाट संक्रमित भएर पाकिस्तानमा अहिलेसम्म कुल तीन हजार ९३ जनाको मृत्यु भएको उनीहरुले जानकारी दिएका छन्।

पाकिस्तानमा प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै संक्रमित पन्जाब प्रदेशमा रहेका छन्। पन्जाबमा अहिलेसम्म ६० हजार १३८ जना संक्रमित भएको अधिकारीहरुले जनाएका छन् भने दोस्रो धेरै संक्रमित रहेको सिन्ध प्रान्तमा ५९ हजार ९८३ जना संक्रमित रहेका छन्।

उनीहरुका अनुसार खैबर पाख्तुख्वामा १९ हजार ६१३ जना, केन्द्रीय राजधानी रहेको इस्लामावादमा नौ हजार ६३७ जना, बालुचिस्तानमा आठ हजार ७९४ जना, गिल्गित बाल्टीस्तानमा एक हजार २१३ जना र पाकिस्तान नियन्त्रीत काश्मिरमा ७४० जना संक्रमित भएका छन्।

विश्वभरी नै कोरोना भाइरस विरुद्धको औषधि किटान भइनसकेको भन्दै आफ्नै तरिकाले औषधि सेवन नगर्न पनि सरकारी स्वास्थ्य अधिकारीहरुले आह्वान गरेका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार