सीमा तनाव कम गर्न भारत र चीनबीच भयो यस्तो सहमति

२०७७ आश्विन ७ बुधबार, एजेन्सी । भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक पठाउन बन्द गर्ने सहमति भएको छ । सीमा क्षेत्रमा जारी तनावलाई लिएर कमाण्डर तहमा भएको छैटौँ चरणको वार्तापछि मंगलबार संयुक्त वक्तव्य जारी गरेर थप सैनिक नपठाउनेसहितका सहमति बनेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

गत सोमबार चीन र भारतबीच कमाण्डर तहमा वार्ता भएको थियो । दुई देशका कमाण्डरबीच भएको वार्तालाई थप बलियो बनाउने सहमति गम्भीरतापूर्वक लागु गर्ने वक्तव्यमा उल्लेख छ । दुई देशबीच अहिले जुन अवस्था छ त्यसमा कुनै किसिमको परिवर्तन नगर्ने सहमति पनि बनेको छ ।

सीमा क्षेत्रमा अब सैनिकको संख्या नबढ्ने दुवै देशले जनाएका छन् । दुवै देशले वास्तविक नियन्त्रण रेखामा अवस्था स्थिर बनाउनका लागि प्रयास गर्ने सहमति भएको छ ।

अंग्रेजी पत्रिका द हिन्दूका अनुसार अहिले नै सैनिक पछि हट्ने सहमति भने बनेको छैन । तर पछिल्लो सहमतिअनुसार नियन्त्रण रेखामा कुनै पनि निर्माण कार्य तत्काल हुने छैन ।

त्यस्तै, जतिसक्दो चाँडो कमाण्डर तहको सातौँ वार्ता गर्ने पनि सहमति भएको छ । सीमामा शान्ति कायम गर्नका लागि ठोस कमद चाल्ने पनि उल्लेख छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार