ड्रग्स प्रकरणकाे सोधपुछको क्रममा रोइन् दीपिका पादुकोण

२०७७ आश्विन ११ आइतबार, एजेन्सी । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) ले शनिवार अभिनेत्री दीपिका पादुकोणसँग ६ घण्टा सोधपुछ गर्‍याे । सोधपुछको क्रममा उनी रोएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

त्यसबेला एनसिबीका अधिकारीले उनलाई इमोसनल कार्ड नखेल्न आग्रह गरेका थिए । दीपिकाको आँखामा आँशु देखेपछि एनसिबीका अधिकारीले सत्य बताउन आग्रह गर्दै हात जोडेका थिए ।

एनसिबीसँगको सोधपुछमा दीपिकाले ड्रग्स च्याट गर्ने कुरा स्वीकार गरेकी छन् । तर, उनले कहिल्यै आफूले ड्रग्स नलिएको बताएकी छन् । एनसिबीले ड्रग्स च्याटमा प्रयोग भएका ‘चरेस र गाँजा’ को बारेमा दीपिकालाई सोधेको थियो तर यसको जवाफ उनले स्पष्ट दिइनन् ।

सोधपुछको क्रममा उनले दिएको जवाफबाट एनसिबीका अधिकारी खासै सन्तुष्ट नभएको बताइएको छ ।  एनसिबीले शनिवार सोधपुछपछि डेटा ब्याकअपका लागि दीपिकाको दुईवटा मोबाइलसमेत जफत गरेको छ ।

उनलाई एनसिबीले यो मामलामा संदिग्ध र अभियूक्तसँग कुरा नगर्न भनेको छ । यसपछि उनलाई एक अन्डरटेकिङमा साइन गराइएको थियो । एनसिबीका अधिकारीले तीन चरणमा सोधपुछ हुने बताएपछि दीपिका श्रीमान रणवीर सिंहको साथमा घर फर्किएकी थिइन् ।

सुशान्तसिंह राजपूत मुत्यु प्रकरणमा अनुसन्धान गरिरहेको एनसिबीको हातमा तीन वर्ष पुरानो ह्वाट्सएप ग्रुपको च्याट परेको छ । २८ अक्टोबर २०१७ मा भएको यो च्याटमा दीपिका, उनकी म्यानेजर करिश्मा प्रकाश र सुशान्तकी म्यानेजर जया साहबीच ड्रग्सलाई लिएर कुराकानी भएको थियो ।

करिश्माले एनसिबीसँग उक्त ह्वाट्सएप ग्रुपको एडमिन दीपिका रहेको बताएकी थिइन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार