तालिवान: पश्‍चिमी मुलुकलाई खतरा छैन

२०७७ असार ६ शनिबार, एजेन्सी । अफगानिस्तानबाट नेटो सेना फिर्ता भएपछि तालिवान समूहले पश्चिमी देशलाई आफूहरुबाट कुनै खतरा नरहेको बताएको छ । पश्चिमी मुलुकहरूले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सैनिकको अनुपस्थितिमा तालिवानहरूले आफ्नो गतिविधि युरोप तथा अमेरिकी मुलुकहरूविरुद्ध सञ्चालन गर्न सक्ने आशंकापछि तालिवानले यस्तो बताएको हो ।

 अमेरिकी सेनाको उच्च अधिकारी जनरल केनिथ म्याककेन्जीले सम्झौतामा गरिएका सर्तलाई पूर्णरूपमा पालना भएकाे/नभएको हेरेर यस वर्ष करिब ८ हजार ६ सय नेटो सैनिक फिर्ता गरिने र सबै सर्त पालना भएको पाइएमा बाँकी सेना अर्को वर्षसम्ममा फिर्ता लगिने बताए । तालिवान समूहले फेब्रुअरीमा अमेरिकासँग भएको सम्झौतालाई पालना गर्ने विषयमा आफू कटिबद्ध रहेको बताउँदै यसमा खासगरी अमेरिका तथा अन्य पश्चिमी मुलुकहरूले शंका नगर्न भनेको छ ।

फेब्रुअरीमा भएको सम्झौतामा अफगानिस्तानमा रहेका अमेरिकी र अन्य विदेशी सैनिकलाई अफगानिस्तानबाट फकाउनुपर्ने र तालिवान समूहले शान्तिपूर्ण राजनीतिमा आउन अफगान सरकारसग वार्ता गरी मूलधारको राजनीतिमा समाहित हुने प्रमुख सर्त रहेका छन् । सन् २००१ मा अमेरिकामा अल कायदाले गरेको आक्रमणपछि अमेरिकी अफगानिस्तानमा तैनाथ गरिएको हो ।

तर पश्चिमी मुलुकहरूको पछिल्लो अध्ययन रिपोर्टमा तालिवान र इस्लामिक समूहबीच खासै निकटता नरहे पनि अल कायदासँग ‘निकट रहेको’ र अमेरिकासँगको सम्झौतामा पनि नियमित परामर्श गरेको भन्ने उल्लेख गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने विषयलाई पटक–पटक उठाउँदै आएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार