आईपीएलः हैदराबादको पहिलो जित, दिल्ली पराजित

२०७७ आश्विन १४ बुधबार, एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ ।

अबुधाबीमा मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले पहिलो जित निकालेको हो ।
शेख जायद स्टेडियममा हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।

दिल्लीका शिखर धवनले ३४ तथा ऋषब पन्तले ३२ रन बनाए । शिम्रन हिटमायरले २१ रन जोड्दा कप्तान श्रेयस आयरले १७ रन बनाए । कागिसो राबडा १५ रनमा अविजित रहे ।

दिल्लीलाई सस्तैमा समेट्न राशिद खानले ३ विकेट लिए । भुवनेश्वर कुमारले २ विकेट झारे ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

हैदराबादका लागि जोनी बेयर्स्टोले ४८ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।कप्तान डेभिड वार्नरले ४५ रन जोड्दा केन विलियम्सनले ४१ रन बनाए ।

अब्दुल समाद १२ रनमा अविजित रहदा मनिस पाण्डे ३ रनमा आउट भए ।दिल्लीका अमित मिश्रा र कागिसो राबडाले २र२ विकेट लिए ।
जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको छ । छैटौं स्थानमा रहेको हैदराबाद अघिल्ला दुई खेलमा पराजित भएको थियो ।

पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा हैदराबाद कोलकत्ता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीको यो पहिलो हार हो । तर, तीन खेलमा सन्दीपले मौका पाएका छैनन् । दोस्रो स्थानमा रहेको दिल्लीले ३ खेलमा ४ अंक जोडेको छ ।

अघिल्ला दुई खेलमा दिल्ली अपराजित रहेको थियो । दिल्लीले पहिलो खेलमा किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । दोस्रो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ४४ रनले हराएको थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार