१० खेलाडीमा सीमित बार्सिलोनाको प्रभावशाली जित

२०७७ आश्विन १६ शुक्रबार, काठमाडौं । स्पेनिस ला लिगा फुटबलको दोस्रो खेलमा बार्सिलोनाले प्रभावशाली जित दर्ता गरेको छ । खेलको पहिलो हाफमै १० खेलाडीमा सीमित भएको बार्सिलोनाले सेल्टा डी भिगोमाथि ३-० को जित दर्ता गरेको हो ।

आवे मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि सेल्टा डी भिगोका लुकास ओलाजाले एक गोल उपहार दिए भने आन्शु फाती र सर्गेइ रोबर्टोले एक-एक गोल गरे । खेलको ४२ औँ मिनेटमा क्लेमेन्ट लेङ्गलेट दोहोरो पहेँलो कार्ड खाएर बाहिरिएपछि बार्सिलोना पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो ।

बार्सिलोनाका लागि पहिलो गोल खेलको ११ औँ मिनेटमा फातीले गरे । फिलिप कोन्टिन्होको पासमा पहिलो गोल भएको थियो । पहिलो हाफ १–० को अन्तरमा सकिएको खेलको ५१ औँ मिनेटमा लियोनल मेस्सीको क्रस बललाई जोगाउने क्रममा सेल्टाका ओलाजाले बार्सिलोनालाई एक गोल उपहार दिए ।

त्यसपछि संघर्षपूर्ण बनेको खेलको ९० मिनेटसम्म कुनै गोल हुन सकेन् । इन्जुरी समयमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाएका हुन् । यो जितसँगै बार्सिलोनाले लिगमा उत्कृष्ट सुरुवात गर्दै शुरुका दुवै खेलमा जित हासिल गरेको छ । बार्सिलोनाको २ खेलमा ६ अंक भएको छ । बार्सिलोनाले अब आइतबार राति सेभियाविरुद्ध खेल्ने छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार